सामुदायिक सुरक्षामा जुटौं
नेपाल अहिले इतिहासकै भयावह मोडमा आइपुगेको छ। दुई दिनयता भदौ २३ र २४ मा घटेका घटनाले केवल राजनीतिक सत्ता मात्र होइन, सम्पूर्ण शासकीय संरचना नै खरानीमा परिणत भएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकादेखि लिएर संवैधानिक अंग, संसद्, सिंहदरबार, शीतल निवास जस्ता प्रतीकात्मक भवनहरु जलेर ध्वस्त हुनु भनेको केवल इटा-पर्खालको नाश मात्र होइन, राज्यको अस्तित्वमै प्रश्नचिन्ह खडा हुनु हो।
यो अवस्था आउनुको मूल कारण हो -शासकको अहंकार। जनताको आवाज सुन्ने कान बन्द, असन्तुष्टिलाई सम्बोधन गर्ने क्षमता शून्य, र सत्ताको सिँहासनमा चिप्लिँदै जाँदा पनि पद नछोड्ने दम्भले देशलाई आजको त्रासदीतिर धकेलेको हो। सामाजिक सञ्जाल बन्द गर्ने जस्तो अलोकतान्त्रिक कदमले युवालाई सडकमा ल्यायो। भ्रष्टाचार र अव्यवस्थाबारेको आक्रोशलाई उपेक्षा गरेर दमन गरिएको घटनाले परिस्थितिलाई थप उग्र बनायो।
१९ जनाको रगतले भिजेको सोमबारपछि पनि सत्ता कुर्सीमा अडिने हठले मङ्गलबार देशकै आधारस्तम्भ भत्कायो। आन्दोलनकारीले नेताका निवासदेखि सरकारी भवन, मिडिया र व्यापारीका सम्पत्तिमा आक्रमण गर्दा सुरक्षाकर्मीले समेत नियन्त्रण गर्न सकेनन्। सर्वोच्च अदालतदेखि संसद् भवन, सिंहदरबारदेखि शीतल निवाससम्म ध्वस्त हुनु भनेको मात्र संरचनाको नाश होइन, लोकतान्त्रिक मूल्य र कानुनी शासनको ध्वंस हो।
आज नेपाली समाज स्तब्ध छ। अस्पतालमा चिच्याउने घाइते, सडकमा फैलिएको त्रास, जेल फुटाएर बाहिरिएका कैदी र ध्वस्त सार्वजनिक सम्पत्तिले मुलुकको भविष्यलाई अध्यारो बनाएको छ।
तर, प्रश्न उठ्छ– यो स्थितिको दोष केवल आन्दोलनकारीलाई दिने कि दशकौँदेखि जरा गाडेको भ्रष्टाचार, बेइमानी र सत्तालिप्साले जन्माएको असन्तुष्टिलाई? सत्य के हो भने यो मुलुकलाई खरानीमा पुऱ्याउने मूल दोष अहंकारी नेतृत्व र संवेदनहीन शासकीय शैली नै हो ।
अब मुलुकलाई पुनः उभ्याउने जिम्मेवारी सम्पूर्ण समाज, सचेत नागरिक र युवामाथि छ। आगोले खरानी बनेका ढुंगापर्खाल फेरि उठाउन सकिन्छ, तर ध्वस्त भएको विश्वास र मूल्य पुनःस्थापित गर्न कठिन हुन्छ।
त्यसैले, आजैदेखि सामुदायिक सुरक्षामा लाग्ने बेला आएको छ। टोलटोलमा सुरक्षा समिति, सहकार्य र एकअर्काको सुरक्षामा जोड दिनैपर्छ। हाम्रो सामूहिक सजगता र एकता नै अहंकारी नेतृत्व र अराजक अवस्थापछि उभिएको यो राष्ट्रलाई पुनः जीवन दिन सक्ने आधारशिला बन्न सक्छ।