काठमाडौं।नेपाली सेनाले काठमाडौंसहितका मुख्य सहरमा कडा सुरक्षाजाँच थालेको छ भने अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ।
जेनजीको नाममा देशैभर लुटपाट बढेपछि सेनाले काठमाडौंका मुख्य चोकमा सुरक्षाजाँच कडा पारेको हो।
जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति र सम्भावित उच्छृंखल गतिविधिलाई रोक्न गए राती १० बजेदेखि नै सुरक्षा निकायलाई सडकमा उतारिएको हो।
सेनाले अवस्थाको मूल्यांकन गरी अत्यावश्यक काम परेकालाई मात्र जान दिइरहेको छ भने अन्यलाई घर फर्काइरहेको छ।
सेनाले अत्यावश्यक सेवामा संलग्न व्यक्तिलाई भने परिचयपत्र र सोधपुछका आधारमा आवतजावत गर्न छुट दिएको छ। बिनाकारण घर वा गल्लीबाहिर निस्किएका सर्वसाधारणलाई सम्झाइ–बुझाई घर फर्काइएको छ।
प्रदर्शनका क्रममा आगजनी गरिएको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षेत्रमा सेनाले सर्वसाधारणको प्रवेशमा रोक लगाएको छ।