एशियाकै भव्य संरचनाका रूपमा चिनिएको सिंहदरबार पछिल्लो आन्दोलन, प्रदर्शनका क्रममा जलेर भस्म भयो । इतिहास बोकेको मुलुकको अत्यन्त महत्वपूर्ण सम्पदा एवं ऐतिहासिक दस्तावेजहरू रहेको सिंहदरबारको विनाशले केवल भौतिक वस्तु मात्रै नष्ट भएको छैन । एउटा जिवित इतिहासको मृत्यु भएको छ ।
के हो सिंहदरबार, कसरी बन्यो सिंहदरबार ?
आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।
करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए ।
वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।
युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।
सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।
डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।
दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए । वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।
सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।
२०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।
दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीहरूले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झूमर, बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।
निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्र राष्ट्रका राजदूतहरूले हनुमान ढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद भवनको रूपमा प्रयोग गरिएको थियो ।
२५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।
आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताने प्रयास गरिएको थियो । तर, केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।
राणा शासन विरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।