काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएको घुसपेठका कारण निजी क्षेत्रले व्यहोर्नु परेको ठूलो क्षतिलाई पुनर्निर्माण गर्न र आशावादी दृष्टिकोणसहित विकासको बाटोमा अगाडि बढ्न युवाहरूले सामाजिक सञ्जालमा सकारात्मक अभियान चलाएका छन् ।
“अब मेरो देशलाई चाहिएको छ आर्थिक रूपान्तरण” भन्ने नारासहित सुरु गरिएको अभियानमा उद्योगी व्यापारीहरूलाई ‘चोर’, ‘ठग’, ‘लुटेरा’ नभई मेहनती, जोखिम लिन सक्ने, रोजगारी सिर्जना गर्ने र कर तिर्ने व्यक्तिका रूपमा बुझिनुपर्ने संदेश प्रवाह गरिएको छ ।
नेपाल जस्तो अल्पविकसित र परनिर्भर अर्थतन्त्र भएको मुलुकमा केही सिमित उद्योगी, व्यापारीहरूले प्रशस्त नीतिगत अस्पष्टता, अस्थिर राजनीतिक व्यवस्था र असंख्य चुनौती सहेर पनि राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न खेलेको भूमिकाको कदर गरिनुपर्ने भन्दै युवाहरूले उद्योगी, व्यापारीहरूको आत्मविश्वास जगाउन र राष्ट्रलाई दिगो विकासको यात्रातर्फ अग्रसर गराउन सो अभियान चलाएको बताएका छन् ।