पुण्योदय बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा असोज ३ गते हुँदैछ । चन्द्रागिरि नगरपालिकाभित्रका केहि विश्वसनीय सहकारी मध्ये पुण्योदयको नाम अग्रपंक्तिमा आउँछ ।
पुण्योदय सहकारी संस्थाका शेयरधनी, बचतकर्ता सदस्य तथा ऋण कारोबारमा संलग्न व्यक्तिहरूको अनुभव, प्रत्यक्ष निगरानी र सहभागिताका आधारबाट उक्त संस्थाको संचालक समिति, व्यवस्थापन समिति तथा विभिन्न विषयगत उप-समितिहरूको कार्य सम्पादन पारदर्शी, मितव्ययी एवं जवाफदेही रहेको मूल्यांकन पाइएको छ ।
विगत ९ वर्षदेखि चन्द्रागिरि नगरपालिकाको सहकारी क्षेत्रमार्फत सहकारीका मूल्य, मान्यतामा रहेर पूँजी निर्माण, पूँजी बचत तथा पूँजी प्रवाहका माध्यमबाट स्थानीय उद्यमशिलता, व्यापार, व्यवसाय र अन्य बहुआयामिक आर्थिक पक्षमा भूमिका निर्वाह गर्दै आइरहेको पुण्योदय सहकारी संस्थाका अध्यक्ष सानुकाजी खड्गीसँग शोणितपुर खबरले सो संस्थाको आसन्न वार्षिक साधारण सभा र सहकारी सम्बन्धी विविध विषयमा केन्द्रित रहेर तयार गरेको संक्षिप्त वार्ता प्रस्तुत गरिएको छ ।

संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै हुनुहुन्छ यसबारे केहि भनिदिनु हुन्छ कि ?
सबैभन्दा पहिले यस संस्थाको नवौं वार्षिक साधारण सभाको अवसरमा सम्पूर्ण सदस्यहरूलाई स्वागत तथा धन्यवाद दिन चाहन्छु । साथै पछिल्लो जेन-जी आन्दोलनले सिर्जना गरेको अहिलेको जटिल परिस्थितिमा तामझाम नगरी अत्यन्त साधारण ढंगले सहकारीको भवनमा नै भेटघाट तथा अन्तर्कृयात्मक तरिकाबाट साधारण सभा गर्ने भएकोले नवौं वार्षिक साधारण सभामा संस्थाका सम्पूर्ण सदस्यहरूले हालको विषम स्थितिको जटिलतालाई बुझेर सहकारी भवनमै उपस्थित भएर सहभागिता जनाइदिनुहुन म हार्दिक अपील गर्न चाहन्छु ।
संस्थाको नवौं साधारण सभाको तयारीमा हुनुहुन्छ साथै आगामी कार्यकालका लागि समेत अध्यक्षको भूमिका लिन तपाईंलाई केले प्रेरित गर्याे ?
राष्ट्रिय अर्थतन्त्रको तीन खम्बा मध्ये सहकारी क्षेत्र पनि एक महत्वपूर्ण आयाम हो । यसले समग्र राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने तर्कसँग म विल्कुल सहमत थिएँ र छु । कुनैपनि उत्पादन वा व्यवसायको लागि सामूहिक रूपमा अघि बढ्नुपर्छ भन्ने मेरो मूल्य र मान्यता थियो । जबसम्म सामूहिकताको विकास हुँदैन तबसम्म समाज विकास हुन सक्दैन भन्ने बुझाइ र मान्यता रहिआएको छ ।
समुदायमा रहेका निम्न वर्गका मानिसहरूको जीवनमा आर्थिक पक्षको विकास गराई उनीहरूको जीवनमा गुणस्तरियता ल्याउनु मेरो सपना पनि थियो । तसर्थ सामूहिक रूपमा उत्पादन वा आय आर्जनको लागि समुदायमा रहेका निम्न वर्गहरूको हितलाई बढी ध्यान दिनुपर्छ र यसका लागि छरिएर रहेका स-साना पूँजीलाई एकत्रित गर्दै आय आर्जनमा लगानी गर्ने र संस्थामा आबद्ध सदस्यहरूको क्षमता, सिपको आधारमा रोजगारको सिर्जना गर्दै निम्न वर्गलाई प्राथमिकताका साथ रोजगारीमा संलग्न गराई उनीहरूको आर्थिक पक्षको विकास गराउनु पर्छ जसले समुदायको विकासमा टेवा पुर्याउँछ । यो उद्देश्य पुरा गर्न संस्थागत रूपमा अगाडी बढ्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै यस संस्थाका सबै सदस्यहरूबाट अध्यक्षको भूमिका खेल्नु पर्छ भन्ने आवाज उठेको र विगतका दिनहरूमा आफुले विभिन्न लगानी क्षेत्रमा प्राप्त गरेका अनुभवका आधारमा पनि केहि समय संस्थाको नेतृत्व गर्ने मनसाय र निम्न वर्गको आर्थिक पक्षको उत्थानका लागि मैले देखेको सपनाले नै मलाई अध्यक्षको भूमिका लिन प्रेरित गरेको हो ।
सामूहिक रूपमा उत्पादन वा आय आर्जनको लागि समुदायमा रहेका निम्न वर्गहरूको हितलाई बढी ध्यान दिनुपर्छ र यसका लागि छरिएर रहेका स-साना पूँजीलाई एकत्रित गर्दै आय आर्जनमा लगानी गर्ने र संस्थामा आबद्ध सदस्यहरूको क्षमता, सिपको आधारमा रोजगारको सिर्जना गर्दै निम्न वर्गलाई प्राथमिकताका साथ रोजगारीमा संलग्न गराई उनीहरूको आर्थिक पक्षको विकास गराउनु पर्छ जसले समुदायको विकासमा टेवा पुर्याउँछ ।
के तपाईं हामीलाई नेपालको सामाजिक जीवनमा वित्तीय प्रणालीको आवश्यकता र सहकारीमा तपाईंको सहभागिता र यात्राका बारेमा बताउन सक्नुहुन्छ ?
मानिसको जीवनमा वित्त अर्थात आर्थिक पक्षको सबलता अत्यन्त जरुरी हुन्छ । व्यवहारिकताको हिसाबले हेर्दा वित्तले जीवनमा कति प्रभाव पर्छ भन्ने विषयमा धेरै अनुभवहरू हासिल गरेको छु । समाज विकासको लागि समुदाय केन्द्रित वित्तको विकास गर्नुपर्छ भन्ने सोचका अनुसार आफ्नो समुदायभित्र रहेका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेटेर स-साना पूँजीहरूलाई एकत्रित गरी सो पूँजीलाई उत्पादन मूलक,सिपमूलक,रोजगारमूलक क्षेत्रमा परिचालन गर्ने र उक्त कार्यबाट रोजगारीको सिर्जना गरी समुदायभित्रका मानिसहरूको जीवनलाई सहज बनाउनको लागि अत्यन्त महत्वपूर्ण आर्थिक पक्षको विकासको निम्ति तल्लिन भएर लागिपरेको छु ।
यस उद्देश्यलाई पुरा गर्न संस्थागत रुपमा अगाडी बढ्नु पर्छ भन्ने मूल्य र मान्यतालाई आत्मसाथ गर्दै यस पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था स्थापना गर्दै अगाडी बढिरहेको छु । यस संस्थामा आवद्ध भएर शेयरको रुपमा आफ्नो क्षमता अनुसारको लगानी गर्दै यस संस्थाको लक्ष्यमा सहभागी हुनुभएका सदस्यहरुबाट संकलित पूँजीलाई सहि ठाउँमा लगानी गर्दै उक्त लगानी मार्फत भएको मुनाफाबाट सवै सदस्यहरुको आर्थिक क्षेत्रको विकासको लागि अहोरात्रा खट्दै सहकारीकर्मीको रुपमा आफ्नो यात्रा अगाडी बढाईरहेको छु ।
पछिल्लो समय सहकारी र सहकारीकर्मीहरूमाथि आर्थिक अपचलन र हिनामिनाको आरोप लाग्ने गरेको छ । हाल पुण्योदय सहकारी संस्थाको लागि सबैभन्दा ठुलो वित्तिय जोखिमहरु के के छन् ?
संस्थाको उद्देश्यहरू पुरा गर्न चिन्तित भई अगाडी बढिरहेको र हालसम्म यस संस्थालाई व्यवस्थित रुपमा अगाडी बढाईरहेको भएतापनि समयको क्रमसंगै सहकारी क्षेत्रमा देखापरेको विकृति,केहि सहकारीहरूका संचालक पदाधिकारीहरुको मिलोमत्तोमा अनियमितताहरू गर्ने गरेका कुराहरू देखापर्नु र संस्थाका सदस्यहरूले अत्यन्त दुःख,कष्ट र परिश्रम गरी संस्थामा जम्मा गरेको बचतहरू समयमा फिर्ता नहुने मात्र हैन कतिपय सहकारी संस्थाले सदस्यहरोकको रकम फिर्ता गर्न नसक्नु जस्ता घटनाहरूले बचतकर्ताहरूको सहकारी संस्थाप्रतिको नकरात्मक सोचको विकास, संस्थाबाट ऋण लिएका ऋणी सदस्यहरूले ऋण प्राप्त गर्दा मौखिक र लिखित रूपमा गरेका प्रतिबद्धताहरू पुरा नगर्दा देखिने विभिन्न समस्याहरू नै संस्थामा देखिएको ठुलो समस्याहरू हुन् । साथैे, देशमा विद्यमान अर्थतन्त्रमा देखापरेको संकट र लगानीको लागि सुरक्षित क्षेत्रको सुनिश्चतताको अभावको कारण लगानी गरे अनुसारको मुनाफा नहुँदा सदस्यहरूको विश्वास जित्न कठिन हुँदै गएको र पर्याप्त मात्रामा बचत संकलनमा कमी र संकलन भएका बचतलाई पनि राष्ट्रिय रुपमा अर्थतन्त्रमा देखापरिरहेको विद्यमान समस्याको कारण सहज रुपमा मुनाफामुखी क्षेत्रमा हुने लगानीमा देखापरेको समस्याहरू र राष्ट्रिय अर्थतन्त्रका तीन खम्बाहरू मध्ये महत्वपूर्ण सहकारी क्षेत्रलाई हेर्ने सरकारको अव्यवहारिक दृष्टिकोणहरूको कारण सहजरूपमा पूँजी परिचालन गर्न सक्ने अवस्था नरहनु नै हाल सहकारी संस्थाका वित्तिय जोखिमहरू हुन् ।
सहकारी क्षेत्रमा देखिएका आर्थिक अनियमितताहरूको कारण सहकारीप्रति सदस्यहरुले हेर्ने नकरात्मक दृष्टिकोणलाई तपाई कसरी लिनु हुन्छ ?
प्रश्नको लागि धन्यवाद ! आजकल केहि सहकारी क्षेत्रमा विभिन्न तवरका आर्थिक अनियमितताहरू भए गरेका समाचारहरू व्यापक आउन थालेका छन् । यस कारण पनि सहकारी क्षेत्रमा नकरात्मक असर परिरहेको छ । अहिले सहकारी क्षेत्रका केहि नाम चलेका सहकारीहरू समेत समस्याग्रस्त देखिएको कारण सदस्यहरूले सहकारीप्रति नकरात्मक दृष्टिकोण राख्ने गरेका छन् । यसबाट सहकारी क्षेत्रमा ठूलो चुनौती थपिएको छ । यसबाट हामी अत्यन्त सजग छौं । सहकारीलाई व्यवस्थित रूपले अगाडी बढाउन सक्षम, ईमान्दार, कर्तव्यनिष्ट र सकरात्मक भावनायुक्त संचालकहरू, विषयविज्ञ सहितको लेखा सुपरिवेक्षण समिति, विवेकशील सदस्यहरूसहितको ऋण उप-समिति तथा आवश्यकता अनुसारका विभिन्न उप समितिहरू, सक्षम कर्मचारीहरो र संस्थाको दैनिक क्रियाकलाप सम्बन्धी नियमित अनुगमन, बचत संकलन तथा ऋण परिचालनमा विधि,नीतिको अनुशरण नियमित बैठकबाट कार्ययोजना निर्माण तथा कार्यान्वयनको पक्ष नै हाम्रो संस्थाको एउटा विश्वसनीय आधार हो । यस अर्थले सहकारी क्षेत्रमा हालै देखापरेको आर्थिक अनियमितताबाट परेको नकरात्मक पक्षबाट हामी अलग छौं र सहकारीप्रति बनिरहेको नकरात्मक दृष्टिकोणबाट हाम्रो सहकारीलाई जोगाउन सफल भएका छौं भन्ने कुरा मलाई लागेको छ ।
सहकारीलाई व्यवस्थित रूपले अगाडी बढाउन सक्षम, ईमान्दार, कर्तव्यनिष्ट र सकरात्मक भावनायुक्त संचालकहरू, विषयविज्ञ सहितको लेखा सुपरिवेक्षण समिति, विवेकशील सदस्यहरूसहितको ऋण उप-समिति तथा आवश्यकता अनुसारका विभिन्न उप समितिहरू, सक्षम कर्मचारीहरो र संस्थाको दैनिक क्रियाकलाप सम्बन्धी नियमित अनुगमन, बचत संकलन तथा ऋण परिचालनमा विधि,नीतिको अनुशरण नियमित बैठकबाट कार्ययोजना निर्माण तथा कार्यान्वयनको पक्ष नै हाम्रो संस्थाको एउटा विश्वसनीय आधार हो ।
आर्थिक मन्दीको समयमा सदस्यहरूलाई विस्वस्त पार्ने सम्बन्धमा तपाईंको दृष्टिकोण के छ ?
हाल राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा आर्थिक मन्दी देखिएको छ । व्यापार,व्यवसाय लगायत आर्थिक कारोबारमा आएको गिरावटले गर्दा हरेक मानिसहरूको आय आर्जनमा कमी आएको कारण दैनिक व्यवहारमा समस्या देखापरेको छ । यस्तो अवस्थामा आर्थिक पक्षको सवलताको लागि लगानी गरेका सदस्यहरूले सहकारी संस्थाबाट हुने आय आर्जनलाई पनि एउटा मुख्य आय श्रोतको रुपमा लिने भएको हुँदा यस विषम परिस्थितिमा उचित मुनाफामुखी क्षेत्रमा लगानी गर्नु हाम्रो कर्तव्य हो । तसर्थ संस्थाबाट गरिने लगानीलाई जोखिममुक्त तरिकाले लगानी गरि बढि भन्दा बढि मुनाफा कमाई लाभांशको रूपमा सदस्यहरूलाई आय आर्जनमा बृद्धि गराउनु नै हाम्रो मुख्य दायित्व हुनुपर्छ र सहकारीको गतिविधिको बारे समय समयमा सदस्यहरूको सहभागितामा जानकारीमूलक कार्यक्रम आयोजना गर्ने,अन्र्तक्रिया कार्यक्रम गर्ने सम्पूर्ण सदस्यहरूलाई सहकारी मेरो पनि संस्था हो र यो संस्थाको विकासको लागि मैले पनि सक्दो योगदान गर्नुपर्छ भन्ने भावनाको विकास गराई आर्थिक मन्दीको समयमा पनि संस्थामा आबद्ध सदस्यहरूलाई विश्वस्त पार्न सकिन्छ भन्ने मेरो दृष्टिकोण रहेको छ ।
भनिन्छ सहकारी संचालन सम्बन्धमा संचालकहरूले मनोमानी गर्ने गरेको कुरा व्याप्त हुँदै छ यसमा तपाईंको संस्था अछुतो छ भन्ने आधार के छ ?
अहिले सहकारीप्रति समुदाय तथा सहकारीमा आबद्ध सदस्यहरूको दृष्टिकोणमा नकरात्मकता बढेको छ हालको अवस्थामा सहकारी क्षेत्रमा देखापरेको कतिपय घटना परिघटनाले त्यस प्रकारको सोचलाई स्वभाविक रूपमा लिनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । किनभने सहकारी क्षेत्रको विकासको लागि विगतका दिनहरूमा अति महत्वपूर्ण भूमिका खेल्ने केहि नाम चलेका सहकारीहरूले समेत विधि,नीतिलाई अवलम्बन गरेको नदेख्दा र बचतकर्ताहरूको बचत समयमा नै फिर्ता दिन नसक्ने अवस्था र सहकारीको आर्थिक परिचालनमा समेत संचालक सदस्यहरूको अनियमितताको खबरले पनि सहकारी क्षेत्रमा व्यवस्थित र ऐन, नियमावलीलाई पालना गर्दै अगाडी बढेका सहकारीप्रतिको आम सदस्यहरूको दृष्टिकोण नकरात्मक बन्न पुगेको छ भने यस्तै प्रकारका सहकारीमा भएका अनियमितता, व्यथिती, लापर्वाही आदिले ती सहकारीको वर्तमान अवस्था संकटमा परेको छ र संस्थाका सदस्यहरूले विस्वास गरेर आफ्नो जीवनभरिको कमाईलाई भविष्यको लागि सोचेर बचत गरेको रकम समयमा फिर्ता गर्न नसक्ने अवस्थाले त्यस्ता सहकारीको बदनामी पनि भएको देखिन्छ । यो अवस्थाका कारण सहकारी क्षेत्रमा थप चुनौती थपिएको छ ।
यसो हुँद हुँदै पनि हाम्रो यस सहकारीमा संचालकहरूले मात्र सहकारी संस्थाको हानी,नोक्सानी हुने कुनै पनि कार्य गरेको छैन । संस्थाको विनियमले दिएको अधिकारलाई प्रयोग गर्दै आन्तरिक नियमावलीहरूको निर्माण गर्दै संस्थालाई अगाडी बढाईरहेका छौं । दैनिक कार्य संचालन लगायत बचत तथा ऋण परिचालन र विभिन्न लगानीहरूको सुनिश्चिततामा अत्यन्त सजग भएर विधि,नीति,ऐन,नियमावलीको आधारमा अगाडी बढिरहेका छौं । संस्थाको गतिविधि सम्बन्धमा संचालक समिति, ऋण उप–समिति लगायत अन्य उप समितिहरु बीच नियमित बैठक, छलफलबाट संस्थालाई अगाडी बढाईरहेका छौं । संस्था अन्तर्गतको लेखा सुपरिवेक्षण समितिको आन्तरिक लेखा परिक्षण समेत नियमित रूपमा भईरहेको छ । हालको अवस्थामा सदस्यहरूले जम्मा गरेको आफ्नो बचत कुनैपनि बेला चाहिएमा फिर्ता गर्न हामी सक्षम छौं । आर्थिक तरलता पर्याप्त मात्रामा रहेको छ । हामीले संस्थाको कार्य सम्पादन आफ्नै संस्थाको नाममा दर्ता कायम रहेको कार्यालय भवनबाट नै गरिरहेका छौं । सदस्यहरूको आवश्यकता र चाहानालाई ध्यानमा राखेर पारदर्शी रूपमा दैनिक कार्य सम्पादन गर्दै आईरहेका छौं । तसर्थ यी पक्षहरू नै हाल जसरी सहकारी संस्थामा संचालकहरूले मनोमानी गर्ने गरेको भन्ने कुरा छ त्यसबाट हामी अछुतो छौं भन्ने पर्याप्त आधार हो ।
हालको अवस्थामा सदस्यहरूले जम्मा गरेको आफ्नो बचत कुनैपनि बेला चाहिएमा फिर्ता गर्न हामी सक्षम छौं । आर्थिक तरलता पर्याप्त मात्रामा रहेको छ । हामीले संस्थाको कार्य सम्पादन आफ्नै संस्थाको नाममा दर्ता कायम रहेको कार्यालय भवनबाट नै गरिरहेका छौं ।
जाँदाजाँदै अन्त्यमा अरू केहि भन्नु छ कि ?
संस्थाको नवौं वार्षिक साधारण सभाको अवसरमा संस्था र सभाबारे केहि कुराहरू राख्ने मौका दिनु भयो त्यसका लागि शोणितपुर खबरलाई धन्यवाद दिन चाहान्छु । साधारण सभा भनेको वर्षभरि संस्थाले गरेको गतिविधि, उन्नति प्रगति, समस्या, सल्लाह, सुझाव सहयोगको सम्बन्धमा व्यापक छलफल गर्ने एउटा प्लेटफर्म हो । संस्थाको संचालक समिति, लेखा समिति, ऋण उप–समिति लगायत विभिन्न उप–समितिहरुको आवश्यकता अनुसारको हेरफेर आदि हुने दिन पनि हो यो साधारण सभा । त्यसकारण संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई लगायत संचालक समिति, सल्लाहकारज्यूहरु, लेखा समिति, संस्थाका विभिन्न उप समितिहरूका पदाधिकारीहरू र सम्पुर्ण कर्मचारी मित्रहरूलाई नवौं साधारणसभा मार्फत यस पुण्योदय सहकारीलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन हातेमालोका लागि अपिल गर्दछु ।