काठमाडौं । शरीरलाई स्वस्थ राख्नका लागि प्रोटिन, भिटामिन र मिनरल्सजस्ता पोषक तत्वहरू अपरिहार्य हुन्छन्। यीमध्ये भिटामिन बी१२ को भूमिका अझ महत्त्वपूर्ण मानिन्छ। यसले शरीरमा रक्तकोष र डीएनए उत्पादनदेखि छाला, हड्डी र स्नायु प्रणालीलाई बलियो राख्नसमेत मद्दत गर्छ।
केही अनुसन्धान रिपोर्टहरूका अनुसार, भिटामिन बी१२ ले मस्तिष्कमा विभिन्न रसायनहरू उत्पादन गर्न प्रमुख भूमिका खेल्छ। यसको कमीले स्मरणशक्तिमा ह्रास, डिप्रेसन, चिन्ता र मुड स्विङ्जस्ता समस्याहरू निम्त्याउन सक्छ। विशेषगरी, भिटामिन बी१२ को कमी हुँदा मनमा बेकारका, नकारात्मक वा गडबड गर्ने विचारहरू आउने जोखिम बढ्छ, जसले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
भिटामिन बी१२ को कमीका अन्य लक्षणहरूमा थकान, सास फेर्न गाह्रो हुने, ऊर्जाको कमी, मांसपेशी दुखाइ र घाँटी दुख्ने समस्याहरू पर्दछन्।
स्रोतहरू:
भिटामिन बी१२ को मुख्य स्रोतहरूमा मासु, माछा, अण्डा र दुग्धजन्य पदार्थहरू (दूध, पनिर, दही) पर्दछन्। शाकाहारी व्यक्तिहरूले आफ्नो आहारमा फोर्टिफाइड ब्रेकफास्ट सिरियल, फोर्टिफाइड बिरुवामा आधारित दूध (जस्तै सोया वा बदामको दूध), र फोर्टिफाइड पोषण खमीर समावेश गरेर यसको कमी पूर्ति गर्न सक्छन्।
तसर्थ, स्वस्थ जीवनशैली र सन्तुलित आहारको माध्यमबाट भिटामिन बी१२ को पर्याप्त सेवन गरी शारीरिक तथा मानसिक स्वास्थ्यलाई चुस्त राख्न विशेषज्ञहरूले सुझाव दिएका छन् ।