काठमाडाैं । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा सहिद भएका प्रत्येक परिवारका एक सदस्यलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
असोज २२ गते चौधरी ग्रुपका निर्वाण चौधरीले आन्दोलनका क्रममा चौधरी ग्रुपको निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले आफूहरूलाई गहिरो पीडा दिएको भएपनि दृढ आत्मविश्वासका पुनः निर्माणको यात्रामा अघि बढेको साथै यस कठिन परिस्थितिमा सहिद तथा सहिद परिवारप्रति सम्मान व्यक्त गर्न जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएको हो ।
चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने प्रतिबद्धतालाई केवल वाचा मात्र नभई मुलुकको विकास र पुनः निर्माणमा सम्पूर्ण देशबासीसँगै उभिएर अगाडि बढ्ने आव्हान समेत भएको बताएका छन् ।
चौधरी ग्रुपको टिमले सम्पूर्ण सहिद परिवारलाई सम्पर्क गरेर परामर्श गर्दै जाने बताएको छ भने रोजगारीको विषयमा चौधरी ग्रुपको कर्पोरेट कम्युनिकेसन विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।