विज्ञापन
No data was found

'समकालीन कविता विधामा सक्रिय ३ कविका ३ कविता'

नेपाली साहित्यको कविता विधामा लामो समयदेखि सक्रिय “शरद पोख्रेल” कविता-चेतनाले भरिएका कवि हुन् एवम् साहित्य संगठक पनि हुन् ।

विज्ञापन

“सरस्वती सरस” लेखनमा स्पस्ट र विचारमा प्रष्ट तर अपेक्षाकृत कम लेखिरहेकी कवि हुन् ।

विज्ञापन

त्यस्तै, पछिल्लो समय निक्कै उत्साहका साथ कविता लेखिरहेका कवि हुन् “मौन व्रत”

शोणितपुर खबरको नियमित स्तम्भ “शनिबार-साहित्यबार” अन्तर्गत आजको शृङ्खलामा शरद पोख्रेल, सरस्वती सरस तथा मौन व्रतका एक,एक, एक – ३ ओटा छोटा कविता प्रस्तुत गरिएको छ ।

 

बा, गाई र देश

शरद पोख्रेल

__________________

बालाई एक दिन कतै घर छोडेर निस्कनुपर्यो भने
मन गाइको किलैमा बाँधेर जानुहुन्छ।
हजारबार सम्झनुहुन्छ
छट्पटिनुहुन्छ ।

जब अर्को दिन बा घरमा आउनुहुन्छ
बालाई आँगनमा देखेर गाईले प्रेमको गीत सुनाउँछ
फुरुक फुरुक गर्न थाल्छ

बाले सुमसुम्याउनुहुन्छ गाईको काँध
गाईले सुमसुम्याउँछ बाको हात
बाले गाईका जिउबाट किर्ना झारिदिनुहुन्छ
उपियाँ मारिदिनुहुन्छ
भकारो सफा पारिदिनुहुन्छ ।

तर
हाम्रा भकारोका गाईजत्तिकै पनि भएन यो देश
किर्नाहरूले चुसेरै सक्न थाले
उपियाँहरूले डसेरै सक्न थाले
न भकारो सफा गर्छौँ
न ढाडिएका किर्ना, उपियाँ नै थुतेर फाल्न सक्छौँ ।

 

आफ्नै हृदयको उज्यालोमा

– सरस्वती सरस
_______________________

मसँग जादुमय शब्द छैनन्
न त आँखालाई छक्याउने रूप
देखेको कुरा जस्ताको तस्तै बोलिदिने
मसॅंग छ – नाङ्गो हृदय !

लेख्ने कला नपुग्दा पनि
मनको बोली रोकिँदैन
ढाँटेर मिठो बनाउन सक्दिनँ
रमाउँछु म – सत्यको स्वादमै

मलाई चम्किलो आवरण चाहिँदैन
न त प्रशंसा बटुल्ने मुखौटा
जे देख्छु, जस्तो महसुस गर्छु
त्यही पोखिदिन्छु – निस्फिक्री भएर

म जे छु, त्यसैमा रमाइरहेछु
कसैको टेकोमा आफ्नो खुसी खोज्दिनँ
स्वार्थ मेट्न नजिक हुने भीडले
नाप्न सक्दैन – मेरो मनको गहिराइ !

एक्लै हिँड्दा बाटो अझ स्पष्ट भएको देख्छु
आफ्नै सासको सङ्गीत मिठो लाग्छ
अर्काको हाँसोको सहारामा होइन
म पूर्ण छु – आफ्नै हृदयको उज्यालोमा ।

 

म डुम्री हुँ

– मौन व्रत
_____________

मलाई स्याउ फल्नु छैन
मलाई सुन्तला फल्नु छैन
मलाई आँप फल्नु छैन ।

म डुम्रीको रुख हुँ
म डुम्री नै फल्छु ।

म बजारमा बिक्दिनँ
म ढुन्डरा पिट्दिनँ

म अदृश्य भएर फुल्छु
म आफ्नै लयमा फल्छु
म पाकेर झर्छु
म झरेर आफू हुर्केको माटोलाई
सुवासित गर्छु
म झर्दा पनि गौरवान्वित भएर झर्छु ।

मलाई हीनता छैन
मलाई घमण्ड पनि छैन ।

मसँग पनि छ स्याउ, सुन्तला र
आँपको जस्तै
मेरो भागको दुःख
मसँग पनि छ दुःखले सिर्जेको सुख !

म ढल्छु एकदिन अवश्य ढल्छु
म ढल्दा पनि डुम्री नै भएर ढल्छु

म डुम्रीको रुख हुँ
म डुम्री नै फल्छु ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌