काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालका तीन महत्वपूर्ण सडक खण्डको निर्माण कार्य अघि बढाउने बिषयमा जापान सहयोग नियोग जाइकासँग छलफल गरेका छन् ।
अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री खनालले बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरूङमार्गको काम सक्न र कोटेश्वरमा अन्डर पास सेक्सन निर्माण गर्ने बिषयलाई अघि बढाउने बिषयमा जाइकाका प्रतिनिधीसँग छलफल गरेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका खनालले जाइकाका प्रतिनिधिसँग छुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् ।
काठमाडौंको कोटेश्वर अन्डरपास २०९० साल भदौ १५ भित्र सम्पन्न हुने भनिएको छ । करिब ३० अर्ब रुपैयाँ जापानी ऋण सहयोगमा बन्ने यो परियोजनाको लागि सेप्टेम्बरमा ऋण सम्झौता हुने भनिए पनि भएको छैन । ऋण सम्झौता हुन बाँकी रहेको सडक विभागले जनाएको छ ।
यसैगरी सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले नागढुंगा सुरुङमार्गको निर्माण कार्य सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब रूपैयाँ छ ।
जापानको हाजमा एन्डो कर्पोरेसनले ठेक्का पाएको यो आयोजनाको निर्माण कार्य सकेर आवश्यक सञ्चालन प्रक्रिया सम्पन्न गरी आगामी पुसदेखि खुला गर्ने तयारी छ ।