काठमाडौं । अमेरिकी राहदानी (पासपोर्ट)को स्तर यसपालि ऐतिहासिक रूपमा तल झरेको छ । हेन्ले राहदानी सूचकांकानुसार सन् २०१४ मा अमेरिकी राहदानी विश्वको सबैभन्दा शक्तिशाली थियो । यो सूचकांकको २० वर्षको इतिहासमा सन् २०२५ मा पहिलोपल्ट अमेरिकी राहदानी शीर्ष १० भित्र पर्न नसकेको हो ।
शक्तिशाली राहदानी हुनुको मापदण्डमा उक्त देशलाई सबैभन्दा बढी मुलुकमा ‘अन अराइभल भिसा’ प्राप्त हुन्छ । अर्थात्, विश्वका कतिपय मुलुकले भिसाबिना नै ती देशमा प्रवेश गर्न दिनु हो ।
यो सूचकांकमा नेपालको राहदानी भने अन्त्यतिर १०१औँ स्थानमा छ । ३६ राष्ट्रमा नेपालको भिसारहित पहुँच छ ।
यही अक्टोबर १४ मा प्रकाशित नयाँ सूचकांकानुसार अमेरिकी राहदानी जुलाईको वरीयताबाट दुई स्थान तल झरेको छ । अमेरिकी राहदानी मलेसियासँगै १२औँ स्थानमा छ । यसको अर्थ अमेरिकी नागरिकलाई २२७ गन्तव्यमध्ये १८० वटामा भिसारहित प्रवेशको सुविधा छ ।
सन् २०२५ मा सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली देखिएको छ । सिंगापुरको राहदानी १९३ मुलुकमा भिसारहित पहुँचसहित सबैभन्दा शक्तिशालीका रूपमा कायम छ ।
यसपालि भारत ५७ देशमा भिसारहित पहुँचसहित ८५औँ स्थानमा झरेको छ । गत वर्ष भारतको राहदानी ८०औँ स्थानमा थियो ।
नेपालका छिमेकीमा पाकिस्तान ३१ देशमा भिसारहित पहुँचसहित १०३औँ स्थानमा छ । बंगलादेश १००औँ स्थानमा छ । बंगलादेशका नागरिकले ३८ देशमा भिसारहित यात्रा गर्न पाउँछन् । भुटान ५० देशमा भिसारहित पहुँचसहित ९२औँ स्थानमा छ । श्रीलंका ९८औँ स्थानमा छ । श्रीलंकाका नागरिकले ४१ गन्तव्यमा भिसारहित यात्रा अनुमति पाउँछन् ।
यो वर्गीकरण सन् २००५ मा हेन्ले एन्ड पार्टनर्स भिसा प्रतिबन्ध सूचकांकका रूपमा सुरु गरिएको थियो । २०१८ जनवरीमा यसलाई हेन्ले राहदानी सूचकांकका रूपमा अद्यावधिक गरिएको थियो ।