काठमाडाैं । यहि फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेबसाइट www.election.gov.np मा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी आयोगको मिति २०८२ कार्तिक ३० गतेको बैठकबाट निर्णय गरिएको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति मंसिर २० गतेदेखि सञ्चालन हुनेछ। सो कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्ने, मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पौष १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
स्वीकृत निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।