एजेन्सी । बंगलादेशमा गत वर्षको विद्यार्थी आन्दोलन दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले सोमबार सुनाएको फैसलामा तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकसहित तीनैजना शीर्ष अधिकारीलाई कसुरदार ठहर गर्दै समान सजाय निर्धारण गरेको हो ।
गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी रहेका तीन सदस्यीय इजलासले ५४ जनाको बयान, प्रमाण र घटनास्थलका विवरणको अध्ययनपछि निर्णय सुनाएको जानकारी दिएको छ ।
इजलासका अनुसार विद्यार्थी आन्दोलन नियन्त्रण गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएकी थिइन् र आन्दोलनकारी भेला हुने स्थानमा हेलिकोप्टरबाट बम खसाल्न समेत स्वीकृति दिएकी थिइन् । अदालतले यी कार्यहरूलाई ‘मानवताविरुद्धको अपराध’ को श्रेणीमा राख्दै उनीहरूलाई दोषी ठहर गरेको हो ।
हसिना फैसला सुनाइँदासम्म अदालतमा उपस्थित थिइनन् । पछिल्लो राजनीतिक उथलपुथलपछि उनी देश छोडेर भारतमा बस्दै आएकी छन् । कसुरदार तीनै जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशको राजनीतिमा फेरि अस्थिरताका संकेत देखिएको छ ।