विज्ञापन
No data was found

'शीताटी द्रङ्ग अन्तर्गतका ग्रामहरू र हाल चन्द्रागिरिमा रहेका लिच्छविकालीन शिलालेखहरू'

लिच्छविकालीन समयमा उच्च स्थान प्राप्त गर्न सफल शिताटी द्रङ्ग अर्थात् हालको चन्द्रागिरि नगरपालिका क्षेत्रमा विभिन्न ग्रामहरू थिए । उचित संरक्षण हुन नसक्दा ती मध्ये धेरै ग्रामहरू लोप भैसकेको अवस्था छ ।

विज्ञापन

कुनैबेला जयपल्लिका ग्राम, थेन्चो ग्राम, नवग्राम, टेग्वलग्राम, माग्वल ग्राम, बु..ङ्ग्राम, किचप्रिचिङ् ग्राम, कादुङ् ग्राम, फेरङकोट्ट, हस्विमबिल्ली ग्राम, बद्राली, जोल्प्रिङ् ग्राम, ह्नागूं, तैडोस्थल, नतिदुल्, कंश्मशान, येब्रंखर, थम्विदुल, सुरिसिंवत्ती, शलङ्खा, पहञ्चो, लुम्वञ्चो, फवद्रङ्ग्राम, गेप्रोदिङ्ग्राम, मणिदुङ् ग्राम, नुपुनग्राम सत्वौमालम्बा, दावाकोट्ट, त्रिसन्धि, सिस्तीखोट्ट, दण्डङ्गु, आरामखर आदि गाउँहरू शीताटी द्रङ्गमा थिए ।

विज्ञापन

केही ग्रामहरू उस्तै नामले र कुनै ग्रामलाई हाल खेतको नामले चिनिन्छन् । यी ग्रामहरूको वस्तुस्थिति बनावट कस्तो थियो होला ? त्यहाँ कुन जाति थरका मानिस थिए होलान् ? ती ग्रामहरू कसरी लोप भए होलान् ? गहिरो अध्ययन र उत्खनन्‌को जरुरी छ ।

त्यस्तै, लिच्छविकालका शिलालेखहरू चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानमा रहेको पाइन्छ । लिच्छविकालीन समयमा शीताटी द्रङ्ग क्षेत्रभित्र भएका विभिन्न शिलालेखहरूको बारेमा जानकारी गराउन यो संक्षिप्त लेखले सहयोगीको भूमिका निर्वाह गर्दछ भन्ने उद्देश्यले यहाँ साभार गरिएको छ । प्रस्तुत सामाग्रीमा शक संवत, मानदेव सम्वत् र विक्रम सम्वत् उल्लेख भएका छन् ।

क्र.सं. (१) राजा बसन्तदेव, दूतक- याज्ञिक विरोचनगुप्त, स्थान: थानकोट, आदिनारायण मन्दिर परिसर, वि.सं. ५६३,सम्वत् ४२८, कैफियत: शिताटी गुल्म, अष्टादशप्रकृति, विर्त्ताप्रथा, जयसुन्दरीको विवाह (२) राजा बसन्तदेव, दूतक- रविगुप्त, स्थान: किसिपिडी, वि.सं. ५८५, सम्वत् ४४९, कैफियत: सर्वदण्डनायक, महाप्रतिहार, कुथेर कर (३) राजा बसन्तदेव, स्थान: बलम्बु महालक्ष्मी मन्दिर, कैफियत: श्रीवर्म्म, थुल्लगुप्त, शुभगुप्त, श्रीदेवयश (४) राजा बसन्तदेव, दूतक-भवगुप्त, स्थान: चौकीटार, वि.सं ५९०, सम्वत् ४५४, कैफियत: कुथेर, शोल्ल अधिकरण,महासामन्त, श्रीक्रमलील (५) राजा बसन्तदेव, दूतक-भवगुप्त, स्थान: पासिङ्ख्य, वि.सं. ५९०, सम्वत् ४५४, कैफियत: कुथेर, शोल्ल अधिकरण, लेख्यादान, पञ्चापराध सम्बन्धि, द्वैतशासनको सुरु (६) राजा बसन्तदेव, स्थान: बलम्बु महालक्ष्मी मन्दिर, वि.सं. ५९०, सम्वत् ४५४, कैफियत: संवत मात्र खुलेको (७) राजा गणदेव भौमगुप्त, दूतक-बम्रु बर्मा, स्थान: चौकीटार, वि.सं. ६१८, सम्वत् ४८२, कैफियत: कुथेर, शुली, लिङ्ग्वल, माप्चोक, चार अधिकरण, प्रसादगुप्तवार्त्ते (८) राजा गणदेवगुप्त, दूतक-बम्रु बर्मा, स्थान: सतुङ्गल, देउननी, वि.सं. ६१८, सम्वत् ४८२, कैफियत: कुथेर, शुली, लिङ्ग्वल,माप्चोक, चार अधिकरण, तल र तलस्वामी, शिताटीका तल, प्रसादगुप्तवार्त्ते रहेका छन् ।

त्यस्तै, (९) राजा शिवदेव र अंशुबर्मा दूतक-गुणचन्द्र, स्थान: सतुङ्गल, वि.सं. ६५४, सम्वत् ५१९, कैफियत: कादुंङ ग्राम, फेरंग कोट्ट, महासामन्त अंशुबर्मा (१०) राजा अंशुबर्मा, स्थान: किसिपिडी, कैफियत: मुखियालगायत, युवराज उदयदेव, श्री (११) स्थान: बलम्बु, भेल्बु, वि.सं. ६८१, सम्वत् ४८ (अनुमानित) कैफियत: चान्द्रव्याकरण, चन्द्र बर्मा गोमी, (१२) राजा ध्रुवदेव्र र जिष्णुगुप्त दूतक-युवराज विष्णुगुप्त, स्थान: मालटार, वि.सं. ६८२, सम्वत् ४९, कैफियत: माग्वल ग्राम, ग्राम पाञ्चाली, लिच्छवी कुलकेतु भट्टारक महाराज (१३) राजा भीमार्जुनदेव र जिष्णुगुप्त, दूतक-युवराज विष्णुगुप्त, स्थान: बलम्बु, गाउँ बाहिर, वि.सं. ६८८, सम्वत् ५५, कैफियत: चैलकर, ह्यागुं, तैडोस्थल, नतिदुल (१४) राजा भीमार्जुनदेव र जिष्णुगुप्त, दूतक- युवराज विष्णुगुप्त, स्थान: थानकोट, वि.सं.६९०, सम्वत् ५७, कैफियत: थेन्चोग्राम, मानगुप्त गोमी, चोखपरा, शलङ्खा, सुरिसिंबत्ती, पहञ्चो, सिंकर (१५) राजा नरेन्द्रदेव, दूतक-रूपचन्द्र गोमी, स्थान: बलम्बु, प्रणिधिपूर्णविहार, वि.सं. ७२३, सम्वत् ९०, कैफियत: गोमी, इहलोक, परलोक (१६) राजा द्वितीय शिवदेव, दूतक-भट्टारक श्री जयदेव, स्थान: बलम्बु मा.वि. पछाडि कुवा छेउ, वि.सं. ७६२/६३ सम्वत् १२९ कैफियत: नेपालभुक्ति, शिताटी द्रङ्ग, पुत्तीनारायण, गौतमश्रम (१७) राजा, दूतक र मिति अज्ञात रहेको मच्छेगाउँमा रहेको शिलालेखमा कैफियतमा पानीको प्रसङ्ग उल्लेख गरिएको पाइएको ।

 

नोट: बलम्बु लुकुमहाद्य, बलम्बु हितिगा, किसिपिंडी, थानकोटमा रहेको गणदेव भौमगुप्तको संवत् ४८२ (वि.स. ६१८) एउटै प्रकृतिको अभिलेख भएकोले समावेस गरिएन । साथै किसिपिडी र वाणस्थलीको थप दुई अभिलेख पूर्णरूपमा पढ्न नसकिने गरी अक्षर नष्ट भइसकेको छ । वाणस्थलीको अभिलेखलाई हाल ठाडो ढुङ्गा भन्ने गरिन्छ । वाणस्थलीको भौगोलिक स्थितिलाई हेर्दा यस अभिलेखले सीमा छुट्टाएको भान हुन्छ । यो ठाडो ढु‌ङ्गाबाट २ सय मिटर अगाडिसम्म पुरानो इँट्टाको गाह्रो हाल पनि देख्न भेट्न सकिन्छ । केही वर्ष पहिले घर निर्माणको क्रममा मध्यकालीन एक इनार र माटाका सामग्रीसमेत यहाँ फेला परेको थियो । हाल त्यो इनार पूर्णरूपले नाश भइसकेको छ । वाणस्थली क्षेत्रमा नयाँ घर बनाउन जग खन्दा, खेत बारीमा खनी खोस्रिदा पुराना इँटा, सिँगटी, घरका जगहरू भेटिने गर्दछ । स्थानीयहरू यस क्षेत्रलाई वाणासुरको राजधानी स्थान भन्ने गर्दछन् ।

निष्कर्ष :

चन्द्रागिरि (शीताटी द्रङ्ग) को भौगोलिक क्षेत्रभित्र ऐतिहासिक विविध स्रोतहरू उपलब्ध भएका कारण यस द्रङ्गलाई इतिहासको महत्त्वपूर्ण स्रोतको रूपमा लिन सकिन्छ ।

प्राचीन मूर्तिहरू, सांस्कृतिक मेला, पर्वहरू (मातातीर्थ मेला, पुरुषोत्तममास मेला, आदिनारायण मेला, इन्द्रदह मेला,ब्वछा वयेगु (परिकार चढाउने पर्व), सिद्धिकुमार यात्रा, पशुपतिमा सुन्दर छाता चढाउने यात्रा, भीमसेन यात्रा, बखुमलः यात्रा, सिकाली यात्रा, महालक्ष्मी यात्रा आदि) सञ्चालनमा थिए र तीमध्ये केही जात्रा/पर्व हाल पूर्ण रूपमा लोप भैसकेको छ भने केही अनुशरणमै छ । चारैतिर पर्वतले घेरिएको कचौरा आकारमा अवस्थित यस द्रङ्ग प्राकृतिक रूपमा प्राचीन समयदेखि नै धनी थियो । यस द्रङ्गमा गोरेटो, घोरेटो, हस्तिमार्गका साथै ठुलाठुला सालको रुख, माशको रुख, चाँपको रुख, अमिलो आँपको रुख र सल्लाको बगैंचा नै थियो । वन औषधीले भरिपूर्ण यहाँ झरना, पोखरी, नदी (पुत्तीनदी, उत्थिम नदी) ले थप सुन्दरता प्रदान गरेको थियो ।

थानकोटको संवत् ४२८ अभिलेखमा शीताटी गुल्म जनिएको त्यस्तै सम्वत् ४८२ को चौकिटार, बलम्बु, किसिपिंडी र सतुङ्गलको अभिलेखमा शीताटी तल उल्लेख छ । द्वितीय शिवदेवको सम्वत् १२९ को बलम्बुको अभिलेख राख्दासम्म शीताटी तल द्रङ्गमा उक्लिसकेको छ ।
यसरी करिब २०० वर्षमा शीताटी ग्राम हुँदै द्रङ्गमा विकास भएको पाइन्छ ।

यसरी ग्राम, तल र द्रङ्ग खुलेको एक मात्र द्रङ्ग शीताटी द्रङ्ग हो । अन्य द्रङ्गको तीनै तह खुलेको पाइएको छैन । पहिलो राजवंश गोपालवंशको आदि भूमि, किराँतराजवंशको राजधानी, गौतममुनिको आश्रम भएको, नेपालको पहिलो सनद शिलापत्र भएको यस द्रङ्ग ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा धनी ठहरिएको छ ।

समन्वयात्मक सांस्कृतिक विविधता बोकेको शीताटी द्रङ्गले समृद्ध र आफ्नो वैभवलाई उजागार गर्न सफल भएको छ । यसको उचित खोज र अनुसन्धान गरौं ।

(इतिहासकार तथा शिलालेख अध्ययनकर्ता रविन्द्र रिजालको “चन्द्रागिरि अनुशील” नामक पुस्तकमा समावेस भएको लेखबाट साभार गरिएको)

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत