काठमाडाैं । चन्द्रागिरि हिल्सले हिल्समा कार्यरत कर्मचारीहरूको संचित विदा कटौती गरेको विषयमा श्रम तथा रोजगार विभाग टेकुले लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको छ ।
हिल्समा आधिकारिक रूपमा कृयाशील नेपाल एकीकृत होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनले बिना कारण श्रमिकहरूको संचित विदा कटौती गरेको भन्दै मंसिर २९ गते दर्ता गरेको निवेदनलाई आधार मानेर श्रम तथा रोजगार कार्यालयले हिल्सलाई पत्र काटेको हो ।
श्रम तथा रोजगार कार्यालयले युनियनले दर्ता गरेको माग दाबीको सम्बन्धमा दुवै पक्ष बीच छलफल गर्नको लागि पौष १४ गते दिउँसो २ बजे प्रतिष्ठानको तर्फबाट स्वयं व्यवस्थापक वा अख्तियार प्राप्त व्यक्ति निवेदकको माग दाबी अनुसार सोको मनासिब कारण सहितको लिखित जवाफ र आवश्यक प्रमाण कागजातहरूसहित अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।
हिल्समा कृयाशील आधिकारिक ट्रेड युनियनद्वारा हिल्समा कार्यरत श्रमिकहरूको ३० दिनदेखि ४० दिनसम्मको संचित बिदा व्यवस्थापनबाट विभिन्न बहाना देखाई कट्टा गरिएको र उक्त संचित विदा कटौतीबारे लिखित रूपमा पटकपटक अनुरोध गर्दा पनि सो सम्बन्धमा हिल्स व्यवस्थापनबाट कुनै सुनुवाई नभएको साथै, प्रचलित कानुन विपरीत ट्रेड युनियनको सहमति बिना एकतर्फी रूपमा व्यवस्थापनबाट मनपरि निर्णय गरिएको, मौखिक एवम् लिखित रूपमा सो सम्बन्धमा छलफल गर्न खोज्दा अटेर गरेको र श्रमिकहरूको संवैधानिक अधिकार कुण्ठित गरिएको भन्दै निवेदन दर्ता गरिएको थियो ।