काठमाडाैं । थानकोट मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपाली चन्द्रागिरि नगरपालिका स्तरीय सामुदायिक विद्यालय समितिको अध्यक्षमा चुनिएका छन् ।
पौष ८ गते मंगलोदय स्कुलमा बसेको चन्द्रागिरि नगरपालिकामा सञ्चालनमा रहेका २२ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त भेलाले गोपालीलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।
नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको सामूहिक हकहित तथा शिक्षक एवम् कर्मचारीहरूको सामूहिक समस्याको संस्थागत समाधानको पहल गर्न र शैक्षिक गुणस्तर अभिवृद्धिमा कार्य गर्न समिति गठन गरिएको समितिका अध्यक्ष कविन्द्र गोपालीले जानकारी दिएका छन् ।
नवगठित समितिको उपाध्यक्षमा मच्छेगाउँमा रहेको नारायणजन मा.विका विष्णुप्रसाद रुपाखेती चुनिएका छन् भने सचिवमा चिसापानीमा रहेको चण्डीभैरव मा.विका किशोरप्रसाद पाण्डे तथा कोषाध्यक्षमा नैकापमा रहेको मंगल मा.विका कृष्णहरि कार्की र सह-सचिवमा मातातीर्थमा रहेको जनविकास मा.विका सरोज अधिकारी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा बालागाउँमा रहेको महालक्ष्मी आधारभूत विद्यालयकी अन्जना सुवेदी र मच्छेगाउँमा रहेको चुनदेवी आधारभूत विद्यालयका हरिशरण खनाल चयन भएका छन् ।
साथै, समितिको संरक्षकमा कंकाली माध्यामिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरू तथा सल्लाहकारहरूमा प्रभात माध्यमिक विद्यालयका रामकाजी श्रेष्ठ र बलम्बु माध्यामिक विद्यालयका सुमन राउतलाई चयन गरिएको छ ।
राज्यको तीन तह अन्तर्गत विकेन्द्रीकरणको सिद्धान्त अनुसार स्थानीय तहले शैक्षिक क्षेत्र समेत हेर्ने प्रावधान छ । उसो त स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, शिक्षक दरबन्दी मिलान, प्र.अ. व्यवस्थापन लगायत शिक्षा सम्बन्धि कतिपय नीतिगत अस्पष्टता कायम रहेको अवस्थामा गठन गरिएको सामुदायिक विद्यालय समितिको आगामी शैक्षिक यात्रा चुनौतीपूर्ण भने देखिन्छ ।