काठमाडाैं । करिब २० अर्ब रुपैयाँको लागतमा निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ्ग मार्गको सम्भाव्यता अध्ययन सडक विभागले सन् २०१३ को फेब्रुअरीमा गरेको थियो।
वि.सं. २०७६ साल कात्तिक २८ गते यसको ठेक्का लागेको थियो भने २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद थियो। तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्म म्याद थपिएको थियो।
धादिङको जिल्लाको त्रिभुवन राजपथको सिस्ने खोलादेखि – काठमाडौं जिल्लाको किसिपिडीसम्म फैलिएको (नागढुंगा सुरुङमार्ग)को लम्बाइ २.६८८ किलोमिटर छ।
सुरुङमार्गभित्र सवारी गुड्नका लागि ३.५ मिटर चौडाइका २ लेनका सडक छ। त्यसको बीचमा १.५ मिटरको मेडियन र दुवैतर्फ ढलका लागि ०.५ मिटरको नालीको व्यवस्था छ।
सुरुङमार्ग प्रवेशका लागि पूर्वमा काठमाडौंतर्फ २.३०७ किलोमिटर र पश्चिममा धादिङतर्फ ०.५६५ किलोमिटरको एप्रोच सडक छ।
यो नेपालको पहिलो सडक सुरुङमार्ग हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग बनिरहेको छ । सुरुङसम्म पहुँचचमार्गका लागि किसिपिडी, गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर समेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो हुँदैछ ।
यो आयोजना अध्ययन सन् २०१४ मा भएको थियो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल कम्पनी हो ।
आयोजनामा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विस्फोटक पदार्थ प्रयोग नगरी नै सुरुङ बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ ।
यो सुरुङमा मोटरसाइकल र अतिप्रज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले प्रवेश अनुमति पाउने छैन । अन्य सवारीसाधन भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् ।
नेपालको राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिएको सिस्नेखोला-नागढुङ्गा सुरुङ्ग मार्गको सञ्चालनपछि मुलुकको विभिन्न स्थानबाट छोटो समयमै उपत्यका भित्रीन तथा बाहिरिन र सहज हुने, सडक जाम कम हुने र राष्ट्रिय अर्थतन्त्रमा समेत बहुआयामिक योगदान पुर्याउने देखिन्छ ।
यद्यपि, निर्माण कम्पनीले नेपाल सरकारलाई उक्त सुरुङ्ग मार्ग परियोजना हस्तान्तरण नगरेसम्म प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।