काठमाडाैं । चामलको मूल्यमा भारी गिरावट आएको छ । बजारमा नयाँ धान र चामल प्रशस्त मात्रामा भित्रिएसँगै चामलको मूल्य प्रतिबोरा (२५ केजी) २०० देखि ५०० रुपैयाँसम्म सस्तिएको हो ।
विज्ञापन
खुद्रा व्यापार संघका अनुसार स्वदेशी धान पाक्ने सिजन सकिएर बजारमा नयाँ चामल आउनु र भारतबाट समेत उल्लेख्य मात्रामा धान–चामल आयात भएकाले मूल्य घटेको हो । नयाँ मूल्यसूची अनुसार अहिले बजारमा २५ केजीको नयाँ जिरा मसिनो चामल १६०० देखि १८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, सोना मन्सुली चामलको मूल्य १५५० देखि १६०० रुपैयाँ कायम भएको छ ।
विज्ञापन
सामान्य चामलको भाउ घट्दा ‘लङ ग्रेन’ (बासमती लगायत) चामलको भाउ भने बढेको छ । भारतबाटै खरिद मूल्य बढेर आएकाले लङ ग्रेन चामलको मूल्य प्रतिबोरा १०० देखि २०० रुपैयाँले बढेको व्यवसायीहरूले बताएका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालमा १५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको धान–चामल आयात भइसकेको छ ।