काठमाडौं । संयुक्त राज्य अमेरिकाले आप्रवासी (इमिग्रान्ट) भिसा नीतिमा व्यापक फेरबदल गर्दै नेपालसहित ७५ देशका नागरिकको भिसा प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयको आन्तरिक मेमोलाई उद्धृत गर्दै फक्स न्युजले जनाए अनुसार, यो नियम माघ ७ (जनवरी २१) देखि लागू हुनेछ ।
अमेरिकाको यो कदमले स्थायी बसोबासको अनुमति (ग्रिन कार्ड) को पर्खाइमा रहेका थुप्रै नेपालीहरू प्रभावित हुने भएका छन् ।
यो सूचीमा नेपालका अलावा सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायतका देशहरू समावेश छन् । मन्त्रालयले आप्रवासी भिसा प्रक्रियाको पुनरवलोकन नसकिएसम्म यो स्थगन अनिश्चितकालका लागि जारी रहने जनाएको छ ।
आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबासका लागि दिइने भिसा हो, जुन विद्यार्थी वा भ्रमण भिसाभन्दा नितान्त फरक हुन्छ ।
नयाँ नियम अनुसार, कन्सुलर अधिकारीले भिसा अन्तर्वार्ताका क्रममा आवेदकको अवस्था हेरी ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर (करिब ७ लाख देखि २१ लाख ६६ हजार रुपैयाँसम्म) धरौटी माग गर्न सक्नेछन् । यो रकम अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आईसीई) मा जम्मा गर्नुपर्नेछ ।