काठमाडाैं । आसन्न फागुन २१ गते तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले चन्द्रागिरि नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गर्न लागेको छ ।
जेन-जी आन्दोलन पश्चात् गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनको समय नजिकिंदै गर्दा निर्वाचन सम्बन्धि मतपत्र छपाई, म्यादी प्रहरी भर्ना प्रक्रिया लगायत संरचनागत अन्य आवश्यक कार्यमा जुटिरहेको निर्वाचन आयोगले देशैभरि आफ्नो कृयाकलाप अगाडि बढाउने क्रममा चन्द्रागिरि नगरपालिकामा पनि आफ्नो सम्पर्क कार्यालय स्थापनाको पहल थालेको छ ।
चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमार्फत प्रतिनिधि सभा निर्वाचनमा मतदान गरिने हुँदा, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारण तथा सर्वपक्षीय एवम् सर्वदलीय समझदारी निर्माणका लागि निर्वाचन आयोगले सम्पर्क कार्यालय स्थापना गर्न लागेको चन्द्रागिरि नगरपालिकाको प्रवक्ता कृष्ण प्रसाद खड्गीले जानकारी दिएका छन् ।
खड्गीका अनुसार निर्वाचन आयोगको कार्यालय स्थापना सम्बन्धि छलफल गर्न र परामर्श एवम् सुझाव संकलन समेत गर्न निर्वाचन आयोगका कर्मचारीहरू माघ २ गते चन्द्रागिरि नगरपालिकामा आउन लागेको जनाइएको छ ।