काठमाडाै । मकवानपुरको ईन्द्रसरोवर मार्खुमा मानव निर्मित जलाशय हेर्न र पारिवारिक पिकनिक लगायत घुमफिर गर्न अहिले आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।
काठमाडौंको चन्द्रागिरिबाट मोटरसाइकल वा गाडीमा करिब डेढ घन्टा पुगिने मार्खु कुलेखानी क्षेत्रमा चिसो हावापानी, मनोरम प्राकृतिक दृश्य, पर्याप्त भौतिक सुविधा भएकाले पनि आन्तरिक पर्यटक आउने गरेका छन्।
ताल वरपर रहेका स्थानीय होटल तथा खाजा घरहरूले आन्तरिक पर्यटकहरूको स्वच्छ, शुद्ध र ताजा खानपिनको प्रबन्ध मिलाएका छन् भने डुंगा सयर गरेर आनन्द लिन चाहनेका लागि २ दर्जन बढी डुंगाको व्यवस्था गरिएको छ। डुंगा व्यवसायी संघ इन्द्रसरोवरले ढुंगामा चढ्नेको सुरक्षाका लागि ‘लाइफ ज्याकेटको व्यवस्था गरेको छ।
छोटो दुरी हुनाले सहर तथा ग्रामीण क्षेत्रका व्यक्तिहरू सरोवर घुम्न आउन लालयित देखिन्छन्। यहाँ पछिल्लो समय डुंगा सयर गर्दै पिकनिकमा रमाउनेको संख्या बढ्दो छ। प्राकृतिक मनमोहक सुन्दरतासँगै ईन्द्रसरोवर ताल झरना ऐतिहासिक मन्दिर राणाकालीन दरबारहरु पर्यटकका लागि गन्तव्य बन्ने गरेका छन्।
तत्कालीन राजा वीरेन्द्र शाहको पालामा विद्युत् उत्पादन गर्न निर्माण गरिएको कुलेखानी जलाशयको पानीबाट ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो आयोजना सञ्चालनमा छन्।
ईन्द्रसरोवर जलाशय माछाका लागि प्रसिद्ध छ। प्राकृतिक मनमोहक सुन्दरतासँगै ईन्द्रसरोवर ताल झरना ऐतिहासिक मन्दिर राणाकालीन दरबारहरु पर्यटकका लागि गन्तव्य बन्ने गरेका छन्
विगतमा घोडामा राजा र राणाहरू चित्लाङको बाटो भएर तराई आउँदाजाँदा बस्नको लागि सत्तल, पाटी, पौवा तथा दरबारको समेत व्यवस्था गरिएको हुन्थ्यो भने अहिले दरबारलाई विद्युत् प्राधिकरणले ‘पाहुना गृह’ को रूपमा उपयोग गरिरहेको छ।
त्यस्तै, मार्खुको झोलुंगे पुल तरेर ४५ मिनेटको पैदल यात्रा गरेपछि एउटा आकर्षक झरनामा पुगिन्छ। पछिल्लो समय मोहिनी झरनाको नामले परिचित यस झरनाले पर्यटकहरूलाई थप आकर्षित गरेको देखिन्छ ।
आजभोलि काठमाडौंबाट चन्द्रागिरि जाने केही पर्यटक चित्लाङ गाउँको होमस्टेमा रात बिताएर भोलिपल्ट ईन्द्रसरोवर पुग्ने गरेका छन्।
कृषि, संस्कृति र प्रकृतिको त्रिवेणी संगम अन्तर्गत पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने थाहा नगरपालिका तथा ईन्द्रसरोवर गाउँपालिकाको चित्लाङ तथा मार्खु लगायतका क्षेत्रहरू ‘हाइकिङ’ अर्थात् पैदलयात्राका लागि पनि उत्तम विकल्प हुन् ।
बढ्दो शहरीकरण, कोलाहल र तनावपूर्ण वातावरणबाट केहि समयका लागि भएपनि मुक्त हुन चित्लाङ, मार्खु लगायत ठाउँमा पुग्ने मान्छेहरूको संख्या दिनानुदिन बढ्न थालेको छ ।
संघ, प्रदेश तथा स्थानीय सरकारले यस्ता ठाउँहरुको पहिचान गरी आन्तरिक पर्यटनको विकास गर्न सके त्यस्ता ठाउँहरुको पहिचान हुनुका साथै पर्यटन प्रवर्द्धन तथा आन्तरिक अर्थतन्त्र निर्माणमा समेत ठूलो सहयोग पुग्ने देखिन्छ ।