“एकदिन मानिसहरू फर्किने छन्” भन्ने शिर्षकको उक्त कविता सङ्ग्रहबाट शोणितपुर खबरको “शनिबार-साहित्यबार” मा कवि दोस्ताजको ३ ओटा कविता प्रस्तुत गरिएको छ ।
बच्चाको अन्त्य
________________
शान्तिको बस्तिमा युद्ध भयो
सबै समाप्त भयो ।
फलाम खिया भयो
शिशा तेल भयो
शरीर सडक भयो
हाड कोइला भयो
अझ भनौँ
जम्मैजम्मै मानिसहरू
माटोमा मर्ज भए
त्यतिन्जेलसम्म पनि
असीमित आकाशमुनि
तैरिरहेको थियो बच्चा !
तर एकदिन समय
सुरूकै समयमा पुग्यो
अर्थात्
यो पूरा ब्रह्माण्ड
एक विन्दुमा गएर पौज भयो !
त्यसपछि के भयो, जैसी बाजे ?
त्यसपछि
यो गीत समाप्त भयो लाटा
बच्चाको अन्त्य भयो !

~~~~~~~~~~~~~~~~~
एकदिन मानिसहरु फर्किनेछन्
_________________________
गुराँस र सुनाखरी
शाश्वत आकाशतिर हेर्दै
भन्दै थिए-
“एकदिन मानिसहरू फर्किनेछन् ।”
ती मानिसहरू,
जो धृतराष्ट्रका आँखाबाट हराए,
जो शकुनिका पासामा परेर मरे,
ती पितामहजस्ता मानिसहरू
एकदिन
फूल बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो नदीको छेउमा पानी नपाई
भष्म भए,
जो नटुङ्गिने बाटोमा स्वयम् बाटो बने, ती भ्रूणहत्यामा परेका मानिसहरू एकदिन ईश्वर बनेर फर्किनेछन् ।
ती मानिसहरू
जो अरूलाई भागबन्डा गर्दागर्दै
आफ्नै आयु बाँडेर हिँडे,
जो विश्वयुद्धमा एटमका टुक्रा-टुक्रामा समर्पित भए,
ती यात्रा-प्रतिक्षाका मानिसहरू
एकदिन वर-पिपल बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो उजाडलाग्दो जमिनमा
प्रकोपको सिकार भए,
जो पिडादायी अभिनय गर्दागर्दै आत्मामा मर्ज भए,
ती भुगोलजस्ता मानिसहरू
एकदिन सारङ्गिका तान बनेर फर्किनेछन् ।
ती मानिसहरू
जो रातो माटो ल्याउन जाँदा
पहिरोको ढिस्कोलो पुरिए,
जो एक्लै मानिसका भीडबाट
महाशून्य भए,
ती भित्तेघडीजस्ता मानिसहरू
एकदिन कुहु-कुहु बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो बोध-विमूढताले थिचिए,
जो उपेक्षा, अबगुण्ठत देहमा
विलीन भए,
ती कायाजस्ता मानिसहरू
एकदिन जलमग्न खोला बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो सवाल-जवाफमा सकिए,
जो जुवा खेल्दा-खेल्दै
जुवामै झुन्डिएर मरे,
ती अञ्जुलीजस्ता मानिसहरू
एकदिन जमेको हिउँ बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो हठात-हठात महानिद्रामा निदाए, जो सिंहासनमा आसिन अन्धकारमा हराए,
ती मेघका डोलजस्ता मानिसहरू एकदिन घाम बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो धावनमार्गका गतिमै पौज भए,
जो आवेगमा आएर प्राङ्गणमा
विह्वल भए,
ती वीर्य जस्ता मानिसहरु
एकदिन दिगन्त उपसार बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो मनमानवमा दनदनबले बाधिए,
जो जीवनान्तर तारा सभामा रेड भए, ती देहका दैहिकजस्ता मानिसहरू एकदिन निश्चल बतास बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो नितान्त एक्ला थिए,
अदृश्य हावा बने,
जो “आऊ न आऊ’ भन्दै आफै गए,
ती वसन्त-प्रभातजस्ता मानिसहरू एकदिन सन्ध्याका पदचाप बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो बाँकी रहेको खाली ठाउँ छ भनी अति दूर गए,
जो मौन आकाशमा गुरूत्व विहीन भए, ती सिन्दूरजस्ता मानिसहरू
एकदिन असार बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो असिमित यात्राका क्रममा निकुन्जका सिकार भए,
जो उड्दा उड्दै असहय थिचाईले झरे, ती रिदयजस्ता मानिसहरू एकदिन उद्देश्य बनेर फर्किनेछन् ।
ती मानिसहरू,
जो विवशताको चापले खाली भए,
जो पार्थिव शरीरले ऋणग्रस्त भए,
ती सजिएका रत्नमाला जस्ता मानिसहरू
एकदिन जीवन बनेर फर्किनेछन् ।
गुराँस र सुनाखरी शाश्वत आकाशतिर हेर्दै भनिरहेका छन्-
“हामीलाई थाहा छ,
हाम्रा माली फर्किनेछन् ।
एकदिन यसै बाटो हुँदै-
पुनः मानिसहरु फर्किनेछन् ।”

~~~~~~~~~~~~~~~~~
त्यसपछि बच्चो पाठशालाबाट भाग्यो
_____________________________
आँखा भएर पनि उसले त्यहाँ
चारैतिर निस्पट्ट अँध्यारो देख्यो ।
ठिकै देख्यो,
अब ऊ एक टुक्रा उज्यालो भेट्नेछ । देख्यो अँध्यारो भित्र भयानक पिजडामा बन्द मोटर सवार फ्रस्ट्रेड मास्टरहरू काला मेघहरू देख्यो,
आँसुका भेलहरू देख्यो
जेलजस्ता स्कुले भ्यानहरू देख्यो ।
अफिसमा सिँगौरी खेलिरहेका
सामन्त साँढेहरू देख्यो ।
बाहिर चउरमा त उसले झन्
तीन जना साथीहरूलाई कुखुरी ‘का’ भालेहरू देख्यो ।
नजिकै देख्यो भिजेका पुस्तकहरू । पुस्तक भित्र-
“आन्न्येङ हासेओ”,
“कोन्निचिवा”,
“नि हाओ”,
“एज सलाम यालैकुम”,
‘हाउ या गोइन”
“तो मान्नायो” देख्यो।
देख्यो-बिना मूल्य जीवन बाँचिरहेका बालापन, बालक उमेरहरू देख्यो
रगतले लतपतिएको ह्वाइटबोर्ड देख्यो ह्वाइटबोर्डका पछाडि निदाएको ब्ल्याकबोर्डको जुलुस देख्यो ।
परजीवी कीराहरू देख्यो,
सूक्ष्म कीराहरू देख्यो।
हपऽऽऽऽर क्लासका बेञ्चमा “क्वा क्वा” रोइरहेका तुलसी र मिराहरू देख्यो।
थोत्रो बोरा बिछ्याएर निदाइरहेका छकाल,
दिउँसो,
साँझहरू देख्यो ।
कक्षाकोठा त झन् उसले
मुर्दा जलिरहेका मसानघाटहरू देख्यो।
उस्तै सरल-उस्तै जटिल,
उस्तै स्पष्ट-उस्तै अस्पष्ट
डोकाका डोका पासपोर्टहरू देख्यो । जनम जनम वैदेशिक चोटहरू देख्यो।
सधैंभरि एकनास घुमीफिरी उही बाटो । पर्खालभित्र अर्को पर्खाल ।
भाग मुला भाग !
यो भूत बंगालाबाट भाग !
नगर मुला नगर !
यस कोइला खानीमा
जवानीको बाझो नगर !
भाग मुला भाग !
यहाँबाट भाग !
भन्दै गयो आफैंलाई।
र_त्यसपछि बच्चो
पाठशालाबाट भाग्दियो !
