काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बहुलतायुक्त समाजअनुकूल समावेशी लोकतान्त्रिक संरचना निर्माण, सुशासन र आर्थिक मोडलको ‘सिफ्ट’ नै पार्टीको प्रमुख अजेन्डा भएको बताए।
उनले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँटलाई स्पष्ट बनाउँदै जनताको प्रत्यक्ष सहभागितामा राज्य सञ्चालन गर्न नेकपा प्रतिबद्ध रहेको उल्लेख गरे। “यस पटक तारा चुनाव चिह्नमा मतदान गरेर व्यवस्था मात्र होइन, देशको अवस्था बदल्ने अवसर दिनुहोस्,” उनले भने।
पार्टीले राष्ट्रिय स्वाधीनतालाई राजनीतिक, आर्थिक र नीतिगत आत्मनिर्णयसहित सुदृढ गर्दै वैदेशिक हस्तक्षेप र परनिर्भरताको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। संविधानका सकारात्मक पक्षको रक्षा गर्दै आवश्यक परिमार्जन, निर्वाचन प्रणाली सुधार र संघीय संरचनाको सुदृढीकरणमा जोड दिइएको छ।
महिला, मजदुर, किसान, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, पिछडा वर्ग तथा सीमान्तीकृत समुदायको समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने पार्टीको दाबी छ।
पार्टीले आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। बहुआयामिक गरिबीलाई २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने, आयात निर्भरता न्यूनीकरण गर्ने तथा स्वदेशी उत्पादन र उद्योगलाई संरक्षण गर्ने योजना अघि सारिएको छ।
हरित तथा डिजिटल अर्थतन्त्रको जग बसाल्ने, निजी–सहकारी–सार्वजनिक क्षेत्रबीच सन्तुलित विकास मोडल अपनाउने र प्रत्येक प्रदेशलाई विशिष्ट आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
उत्पादनमूलक रोजगारी सिर्जनाका लागि प्रतिवर्ष एक लाख ५० हजार नयाँ रोजगारी थप्ने, विदेशबाट फर्किएकाहरूका लागि ‘रिटर्नी उद्यमशीलता’ कार्यक्रम सञ्चालन गर्ने र सहकारितामार्फत सामूहिक खेती तथा उद्योग प्रवर्द्धन गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ।
बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, साना तथा मझौला कर्जाको लक्ष्य निर्धारण गर्ने, सहकारी क्षेत्र पुनरुत्थानका लागि विशेष प्याकेज र ‘फिनटेक’मार्फत वित्तीय सेवा सरल र पारदर्शी बनाउने योजना पनि समेटिएको छ।
नेकपाले आगामी पाँच वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्दै राष्ट्रिय विद्युत् प्रणालीको क्षमता १५ हजार मेगावाट पुऱ्याउने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। दीर्घकालीन रूपमा विसं. २१०० सम्म ४० हजार मेगावाट विद्युत् उत्पादन गर्दै नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने देश बनाउने लक्ष्य लिइएको छ।
आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत ७५० किलोवाट–घण्टा पुऱ्याइनेछ। विद्युत् निर्यात सुनिश्चित गर्न भारत र बांग्लादेशसँग भएका सम्झौताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र निजी क्षेत्रलाई पनि विद्युत् व्यापारमा सहभागी गराइने प्रतिबद्धता पत्रमा उल्लेख छ।