काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्सीय निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरूलाई आग्रह गरेका छन् ।
उनीहरूले देश हाल सबैभन्दा गम्भीर अवस्थामा पुगेकोले सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर सोच विचार गर्न पनि अपिल गरेका छन् ।
अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उनीहरूले आह्वान गरे । बागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गरेका दिनेश हुमागाईँले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गरे ।
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि सङ्गठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए ।
रास्वपा त्यागेका नेताहरू प्रणय र ममता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् भने दिनेश हुमागाईँ हालसम्म कुनै पार्टीमा प्रवेश गरेका छैनन् ।