काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिका पदाधिकारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न नहुन कडा निर्देशन दिएको छ।
आयोगले २०८२ साल लागू गरिएको निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षलाई पुनः सचेत गराउँदै प्रेस विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिताको पालना अनिवार्य रहेको उल्लेख गरिएको छ।
आचारसंहिताको दफा ५ को खण्ड (क) र (ख) अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफ्नो कार्यक्षेत्र बाहेक अन्यत्र दल वा उम्मेदवारको प्रचारमा संलग्न हुन नपाउने तथा सरकारी स्रोत–साधनको प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था छ।
आयोगले सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई मनन गर्दै कुनै पनि प्रकारको चुनावी गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ। आचारसंहिता उल्लंघन भएको पाइएमा दफा ४८ बमोजिम कारबाही गरिने पनि चेतावनी दिइएको छ।