काठमाडाैं । गृह मन्त्रालयले गएराती धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराती करिब १:३० बजे अनियन्त्रित भई सडकबाट करीब २ सय मिटर तल त्रिशूली नदीको किनारमा खसेकोमा हालसम्म प्राप्त विवरण अनुसार बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएको विषयमा छानबिन समिति गठन गरेको हो ।
राती घटेको सो घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीय बासिन्दाहरूको समन्वयमा उद्धार कार्य तदारूकताका साथ अगाडि बढाइएको थियो भने दुर्घटनामा ज्यान गुमाउने मृतकहरूको शव नदीबाट निकालिएको एवम् मृतकहरूको सनाखत प्रक्रिया जारी रहेको र घाइतेहरूलाई तत्काल उद्धार गरि उपचारका लागि विभिन्न अस्पताल पठाइसकिएको भएपनि दुर्घटनाको सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको हो ।