काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ ।
काठमाडौँ क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९, क्षेत्र नं ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको छ ।
यसैगरी, काठमाडौँ क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेलसहित २२ जनाको जमानत जफत भएको छ ।
काठमाडौँ क्षेत्र नं ६ मा १७, क्षेत्र नं ७ मा २६, क्षेत्र नं ८ मा २१, क्षेत्र नं ९ मा २२ र क्षेत्र नं १० मा २३ जना उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनीहरुले धरौटीबापत १० हजार निर्वाचन कार्यालयमा बुझाएका थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्नेले धरौटीबापत बुझाएको रकम जफत गरिन्छ ।