काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो कठोर आत्मसंयम र उपासनाको पर्व ‘रमजान’ सकिएकाे छ । रमजान’ सकिएसँगै आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ ‘इद उल फित्र’ मनाउँदै छन् ।
अरबी पात्रो हिजरी संवतको नवौँ महिनाभरि निराहार व्रत (रोजा) बसेका बुवाआमा, युवा तथा बालबालिकाहरू आज बिहानैदेखि सामूहिक नमाज र खुसी साटासाटमा व्यस्त देखिएका छन् ।
आजको मुख्य आकर्षणका रूपमा राजधानीको घण्टाघरस्थित नेपाली जामे मस्जिद र काश्मिरी मस्जिदमा बिहानै विशेष नमाज पाठ गरिएको छ ।
इद सामाजिक सेवा र परोपकारसँग प्रत्यक्ष जोडिएको पर्व हो । ‘इद उल फित्र’ को शाब्दिक अर्थ नै दान गरेर गरिब र असहायलाई खुसी तुल्याउनु हो । यस अवसरमा प्रत्येक मुस्लिम परिवारले आफ्नो वार्षिक आम्दानी र बचतको साढे दुई प्रतिशत हिस्सा ‘जकात’ (नगद वा जिन्सी दान) का रूपमा विपन्न वर्गलाई बुझाउनुपर्ने धार्मिक प्रावधान छ ।
यसै पावन अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यो पर्वले नेपाली समाजमा रहेको धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।