काठमाडाैं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्षेत्रमा ठूलो संख्यामा कागहरू फेला परेपछि प्रयोगशाला परीक्षण गर्दा “एचफाइभ एन वान” र “एच नाइन” दुवै प्रजातिका बर्ड फ्लू पुष्टि गरिएको छ ।
कीर्तिपुर नगरपालिका र पशु स्वास्थ्य विभागको टोलीले हालसम्म ६८ वटा मरेका कागहरू सङ्कलन गरी सुरक्षित रूपमा गाडिसकेको छ भने अन्य क्षेत्रमा पनि निगरानी बढाइएको बताइएको छ ।
उसो त बर्ड फ्लुको जोखिम बढ्ने खतरा रहेको भन्दै भेटेरिनरी एशोसियसनद्वारा सतर्कता अपनाउन गत हप्ता सार्वजनिक अपिल मार्फत ध्यानाकर्षण गराएको थियो भने पोल्ट्री लगायत क्षेत्रमा पछिल्लो समय बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) का घटनाहरू देखिन थालेपछि चिन्ता व्यक्त गरेको छ ।
त्यस्तै, रोग नियन्त्रण र व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकार तथा सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय र उच्च सतर्कता आवश्यक रहेको एशोसियसनले जनाएको छ। साथै, प्रभावित क्षेत्रबाट पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार नगर्न विशेष आग्रह गरिएको छ।
एशोसियसनले बर्ड फ्लु पुष्टि भएका वा उच्च जोखिमयुक्त क्षेत्रबाट पशु स्वास्थ्य प्रमाणपत्र जारी नगर्न सम्पूर्ण पशु चिकित्सकहरूलाई विशेष अनुरोध गरेको छ।
यता कीर्तिपुरमा खुल्ला रूपमा उड्ने पंक्षीमा सङ्क्रमण देखिएकाले यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताउँदै विज्ञहरूले कुखुरापालक किसानलाई उच्च सतर्कता अपनाउन र सर्वसाधारणलाई मासु उपभोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । त्यस्तै, सङ्क्रमण फैलिन नदिन कीर्तिपुर नगरपालिकाले कुखुराको दाना ओसारपसारमा समेत रोक लगाएको छ ।