काठमाडौं । आगामी जेठ १० गते हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चन्द्रागिरि नगर अधिवेशनको मिति नजिकिँदै जाँदा स्थानीय राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। नगर सभापतिलगायतको नयाँ कार्यसमिति चयनका लागि आकांक्षीहरूबीच कडा प्रतिस्पर्धा सुरु भइसकेको छ।
रास्वपाले देशव्यापी रूपमा स्थानीय संगठन सुदृढीकरण अभियान चलाइरहेका बेला चन्द्रागिरि नगरको नेतृत्व कसको हातमा पुग्छ भन्ने विषय यतिबेला स्थानीय राजनीतिक वृत्तमा चासोको केन्द्रमा रहेको छ। पार्टीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्न बाँकी रहे तापनि शीर्ष नेतृत्वका लागि आकांक्षी नेताहरूले आ-आफ्नो पक्षमा माहोल बनाउन आन्तरिक रणनीति तीव्र पारेका छन्।
स्थानीय स्रोतका अनुसार चन्द्रागिरिका विभिन्न वडाका कार्यकर्ता, शुभेच्छुक र प्रतिनिधिहरूसँगको आन्तरिक भेटघाटदेखि चिया पसलका गफ र सामाजिक सञ्जालसम्म चुनावी रस्साकस्सी सुरु भइसकेको छ। नेतृत्वका लागि उठ्ने आकांक्षीहरू पार्टीभित्र स्थापित र संगठन विस्तारमा उत्तिकै सक्रिय रहेकाले यसपटकको नेतृत्व चयन निकै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वार र ठूलो भूगोल भएको चन्द्रागिरि नगरपालिकामा रास्वपाको राम्रो प्रभाव रहेको मानिन्छ। आगामी स्थानीय तथा आम निर्वाचनको जग बसाल्न पनि यो अधिवेशनलाई रास्वपाले प्रतिष्ठाको विषय बनाएको देखिन्छ। चन्द्रागिरिको नयाँ नेतृत्वले आगामी दिनमा पालिकास्तरमा पार्टीको राजनीतिक एजेन्डा र संगठनलाई कसरी अगाडि बढाउँछ भन्ने कुराले विशेष अर्थ राख्ने हुँदा अन्य राजनीतिक दलहरूले समेत यो अधिवेशनलाई नजिकबाट नियालिरहेका छन्।
रास्वपाले यस क्षेत्रमा संसदीय सफलता समेत हासिल गरिसकेको छ। प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट डोलप्रसाद अर्याल र क्षेत्र नम्बर १० बाट प्रदीप विष्ट विजयी भएका थिए। चन्द्रागिरि नगरपालिकामा काठमाडौं क्षेत्र नम्बर ९ अन्तर्गत १, १२, १३, १४ र १५ नम्बर वडा पर्छन् भने क्षेत्र नम्बर १० अन्तर्गत २ देखि ११ नम्बरसम्मका वडाहरू पर्दछन्। यही भूगोल र जनताको प्रभावका कारण पनि रास्वपाको स्थानीय संगठन र नेतृत्वप्रति चासो बढेको हो।
अधिवेशनअघि नै चन्द्रागिरिका १५ वटै वडामा रास्वपाले संगठन विस्तार सकिसकेको छ। जसअन्तर्गत वडा १ दहचोकमा विनय थापा, २ वाड्भञ्ज्याङमा रामेश्वर प्रसाद भुर्तेल, ३ थानकोटमा गोपाल श्रेष्ठ, ४ मा हेमन्त लामा, ५ मा बुद्ध महर्जन, ६ मा हरिहर के.सी., ७ मा तुलसीराम सोती मगर, ८ मा भुवन तामाङ, ९ मा रमन देशार, १० मा बुद्ध कुमार महर्जन, ११ मा रवि सुवेदी, १२ मा रोशन महर्जन, १३ मा अशोक बुढाथोकी, १४ मा विकास श्रेष्ठ र १५ मा बिमला आचार्य पौड्यालको नेतृत्वमा वडा कमिटी गठन भइसकेका छन्।
हाल रास्वपाको चन्द्रागिरि नगर तदर्थ समितिको सभापतिमा जनार्दन के.सी., उपसभापतिमा करुणा श्रेष्ठ, सचिवमा मधुकर बस्नेत र कोषाध्यक्षमा विनोद सुवेदी रहेका छन् भने सदस्यहरूमा भद्रा आचार्य, भरत आचार्य, ज्ञानदास महर्जन, पूर्ण महर्जन, सिता थापा, शारदा खनाल र दिलकुमार कार्की रहेका छन्।
नगर अधिवेशनलाई केवल स्थानीय संगठन चयनका रूपमा मात्र नभई आगामी राजनीतिक रणनीति र प्रभाव विस्तारसँग जोडेर हेरिएको छ। रास्वपाले संसदीय सफलता हासिल गरिसकेकाले अब कसले नगर नेतृत्व समाल्छ भन्ने विषयलाई स्थानीय राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा नियालिरहेको छ।