काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चन्द्रागिरि नगर अधिवेशन नजिकिँदै गर्दा स्थानीय राजनीतिक सरगर्मी तीव्र बनेको छ।
आगामी जेठ १० गते हुने अधिवेशनमा नेतृत्व चयनलाई लिएर पार्टीभित्र चासो र प्रतिस्पर्धा दुवै बढेको देखिएको छ।
सभापति पदका लागि हाल तदर्थ समितिका अध्यक्ष जनार्दन के.सी. र सचिव मधुकर बस्नेत प्रमुख दाबेदारका रूपमा देखिएका छन्। दुवैबीच सभापति पदमा कडा प्रतिस्पर्धा हुने अनुमान स्थानीय राजनीतिक वृत्तमा गरिएको छ।
अधिवेशन समितिले प्रतिनिधिहरूको विवरण सार्वजनिक गर्दै दिउँसो ३ बजेसम्म कुनै दाबी वा विरोध भएमा लिखित निवेदन पेश गर्न आह्वान गरेको छ। त्यस्तै, उम्मेदवारी दर्ता आज साँझ ५ बजेदेखि ६ बजेसम्म गर्ने कार्यक्रम तय गरिएको छ।
नयाँ कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र ११ जना सदस्य चयन हुनेछन्। तीमध्ये महिला सदस्य कम्तीमा ५ जना र दलित समुदायबाट कम्तीमा १ जना अनिवार्य रहने व्यवस्था गरिएको छ।
विश्लेषकहरूका अनुसार यो अधिवेशन केवल संगठनात्मक नेतृत्व चयन मात्र नभई आगामी निर्वाचन र पार्टीको राजनीतिक प्रभाव विस्तारका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।
अधिवेशनअघि नै कार्यकर्ता भेटघाट, आन्तरिक छलफल र सामाजिक सञ्जालमा सक्रियता बढेसँगै केसी र बस्नेतबीचको प्रतिस्पर्धाले चन्द्रागिरिको राजनीतिक माहोललाई थप उत्कर्षमा पुर्याएको छ।