काठमाडौं । स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु उद्यमको विस्तार तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानमा दुईदिने निःशुल्क हाट बजार आयोजना हुने भएको छ ।
वडा कार्यालयका अनुसार स्थानीय किसान, घरेलु उद्योग, महिला समूह, साना व्यवसायी तथा विभिन्न संघसंस्थाले आफ्ना उत्पादन र सामग्री प्रदर्शन तथा बिक्री गर्न सक्नेछन् ।
हाट बजारमार्फत स्थानीय उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष पहुँच दिलाउनुका साथै स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य राखिएको वडा कार्यालयले जानकारी दिएको छ ।
हाट बजारमा सहभागी हुन इच्छुक वडावासी, स्थानीय व्यवसायी, समूह तथा संस्थालाई निःशुल्क रूपमा स्टल उपलब्ध गराइने वडा कार्यालयले जनाएको छ ।
हाट बजारमा सहभागी हुन चाहनेले आफूले बिक्री गर्न चाहेको सामग्रीको विवरणसहित आगामी जेठ १४ गतेभित्र वडा कार्यालयमा कार्यालय समयमै नाम दर्ता गराउनुपर्ने बताइएको छ ।
हाट बजार यहि जेठ १५ र १६ गते वडा कार्यालय परिसरमा सञ्चालन गरिने भएको हो ।