काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव मन्दिर मा विशेष पूजा तथा अर्चना गर्नुभएको छ ।
धार्मिक विजय यात्रा नेपाल–२०२६ अन्तर्गत नेपाल भ्रमणमा रहनुभएका जगद्गुरु शंकराचार्य महास्वामीले मन्दिर पुगेर भगवान् महादेवको विधिपूर्वक पूजा, आराधना तथा दर्शन गर्नुभएको हो । पूजा–अर्चनाका क्रममा वैदिक मन्त्रोच्चारण, विशेष पूजाविधि तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको थियो ।
मन्दिर परिसरमा महास्वामीको आगमनसँगै श्रद्धालु भक्तजन, धर्मप्रेमी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित भक्तजनहरूले जगद्गुरुको दर्शन तथा आशीर्वाद लिएका थिए ।
चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ । यहाँबाट काठमाडौं उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको समेत आवागमन हुने गरेको छ ।
जगद्गुरु शंकराचार्यको नेपाल आगमनलाई धार्मिक तथा सांस्कृतिक महत्वका साथ हेरिएको छ । उहाँको उपस्थितिले हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतना प्रवर्द्धनमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ ।
भालेश्वर महादेव मन्दिर काठमाडौंको चन्द्रागिरि डाँडामा अवस्थित एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । समुद्री सतहबाट करिब २,५५१ मिटर उचाइमा रहेको यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ ।
किंवदन्तीअनुसार, पौराणिक कालमा चन्द्रागिरि पर्वत शृङ्खला अन्तर्गत रहेको भालेश्वर डाँडामा भगवान शिवले पाइला टेकेको हुनाले सो क्षेत्र धार्मिक तथा अध्यात्मिक पवित्र भूमिको रूपमा समेत प्रसिद्ध मानिन्छ । विशेषगरी सोमबार, शिवरात्रि, तीज तथा साउने महिनामा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।