काठमाडौं । जनपक्षीय पत्रकारिता र प्रगतिशील साहित्यका अग्रणी व्यक्तित्व कृष्णसेन ‘इच्छुक’को २४औँ स्मृति दिवस मनाइएको छ ।
प्रेस सेन्टर नेपालले इच्छुकको स्मृतिमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा विशेष स्मृति कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पत्रकार, साहित्यकार, सञ्चारकर्मी तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले इच्छुकले नेपाली पत्रकारिता, साहित्य र राजनीतिक चेतनामा पुर्याएको योगदानको स्मरण गर्दै उनको विचार र संघर्ष आज पनि सान्दर्भिक रहेको बताएका थिए ।
“ईच्छुक” स्मृति दिवसको अवसरमा देशभरका प्रदेश, जिल्ला तथा प्रतिष्ठान शाखाहरूले समेत रचनात्मक कार्यक्रम आयोजना गरेको प्रेस सेन्टर नेपालले जनाएको छ ।
वि.सं. २०१३ सालमा जन्मिएका ईच्छुक तत्कालीन माओवादी आन्दोलनका क्रममा प्रकाशित ‘जनादेश’ साप्ताहिक र ‘जनदिशा’ दैनिकका सम्पादक थिए । उनलाई २०५९ साल जेठ ६ गते पक्राउ गरी काठमाडौंको महेन्द्र पुलिस क्लबमा हिरासतमा राखिएको थियो ।
हिरासतमा यातनापछि २०५९ जेठ १३ गते उनको हत्या गरिएको भन्दै मानवअधिकारकर्मी र पत्रकारिता क्षेत्रले त्यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमणका रूपमा लिँदै आएका छन् ।
ईच्छुक नेपाली प्रगतिशील साहित्यका पनि प्रभावशाली स्रष्टा मानिन्छन् । उनका ‘शोकाञ्जलि’, ‘इतिहासको यो घडीमा’ र ‘बन्दी र चन्द्रागिरि’ लगायत कृतिहरू नेपाली साहित्यमा चर्चित छन् ।