काठमाडौं । जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाको अनुसन्धान गरिरहेको आयोगले प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत धारणा राख्ने ४९ भन्दा बढी व्यक्ति तथा केही संस्थामाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगको प्रतिवेदनको तथ्य तथा विश्लेषण खण्डको प्रकरण नम्बर ३० मा उल्लेख गरिएअनुसार अभियन्ता, आह्वानकर्ता, समर्थक तथा विभिन्न व्यक्तिहरूको सामाजिक सञ्जाल गतिविधि, प्रकाशित समाचार सामग्री र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनका आधारमा उनीहरूको भूमिका अध्ययन गर्न भनिएको हो।
प्रतिवेदनमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल वस्नेत, सुशिला कार्की, ओमप्रकाश अर्याल, गौरीबहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाईं, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह, निशान मैनालीलगायत व्यक्तिहरूको नाम उल्लेख गरिएको छ।
आयोगले भदौ २३ र २४ गते भएका घटनामा भएको मानवीय तथा भौतिक क्षतिसँग ती व्यक्तिहरूको कुनै संलग्नता रहे–नरहेको, उनीहरूको अभिव्यक्तिले प्रदर्शनकारीहरूलाई आक्रोशित वा उत्तेजित बनाउन कुनै प्रभाव पारे–नपारेको तथा सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने गतिविधि वा दुरुत्साहन भएको–नभएको विषयमा विस्तृत अनुसन्धान गर्न सुझाव दिएको छ।
साथै, अनुसन्धान प्रक्रियामा सम्बन्धित व्यक्तिको स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्दै तथ्यपरक अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न आयोगले सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ।