काठमाडौं । सरकारले स्वदेशमा उत्पादन भएको वस्तुहरु अनिवार्य रुपमा उपभोग गर्न स्थानीय निकाय र प्रदेश सरकारलाई पत्राचार गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशमा उत्पादन भएको ४६ प्रकारका विभिन्न वस्तु अनिवार्य रुपमा प्रयोग गर्न संघीय मामिला मन्त्रालयमार्फत सवै स्थानीय तहलाई पत्राचार गरेको हो ।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले केहि साताअघि स्थानीय तहलाई पत्राचार गरिएको जानकारी दिए ।
मन्त्रालयहरुलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमै कार्यक्रम आयोजना गरी सबै मन्त्रालयका उच्च अधिकारीलाई स्वदेशमा उत्पादन भएका वस्तुहरु प्रयोगमा ल्याउन आग्रह गरिएको थियो ।
उनका अनुसार सरकारले कार्यान्वयनमा ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धि निर्देशिका २०८१ अनुसार स्थानीय तह र प्रदेश सरकारअन्तर्गतका सार्वजनिक निकायलाई ४६ समूहको स्वदेशी वस्तु प्रयोगका लागि पत्राचार गरिएको थियो ।
स्वदेशी कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा उत्पादित वस्तु वा विदेशी कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा उत्पादन, निर्माण वा जडान भएको र कम्तीमा ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि भएको वस्तुलाई स्वदेशी वस्तुको रुपमा उक्त निर्देशिकाले परिभाषित गरेको छ ।
सार्वजनिक निकायअन्तर्गत अदालत, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह आउँछन् ।