काठमाडौं । आजबाट सुरू संघीय संसद्को बजेट अधिवेशन हुँदैछ । त्यसका लागि अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।
कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
आजै दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन्।
साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नेछिन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नुहुने कार्यसूची छ ।
साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ पेस गर्नेछिन भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्ने कार्यसूची रहेको जनाइएको छ।