काठमाडाैं । ललितपुर महानगरपालिका–८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
विज्ञापन
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार इट्टाभट्टामा काम गर्ने रूकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।
विज्ञापन
घटनामा घाइते भएका चार जनालाई उपचारका लागि ठैबस्थित मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै रूकुमकै २७ वर्षीया जानकी चन्दलाई थप उपचारका लागि मोडल अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।