काठमाण्डौै । सरकारले आजदेखि विशेष अभियान सञ्चालन गर्दैछ । अनावश्यक रूपमा कार्यालयहरूमा फाईल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न आजदेखि एक हप्तासम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गर्न लागेको हो ।
देशैभरका कार्यालयहरूमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्ति रोक्न ‘शून्य बाँकी फाइल अभियान’ शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
तल्लो निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गरिनेछ ।
त्यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ यसअघि नै सार्वजनिक गरिसकेको छ ।
आउँदो वैशाख ७ गतेसम्म सञ्चालन हुने यो विशेष अभियानलाई डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको चन्द्रागिरि नगरपालिकाले कसरी पूरा गर्छ त्यो भने हेर्न बाँकी नै रहेको एक सेवाग्राहीले शोणितपुर खबरलाई बताएका छन् ।