काठमाडाैं । अब राष्ट्रिय परिचयपत्र बनाउन नागरिकताकै डेटाबेसबाट काम हुने र छुट्टै आवेदन फाराम (प्रि-इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ ।
गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेपछि (अन्तरआबद्धता) नागरिकले छ्ट्टाछुट्टै फाराम भर्न नपर्ने भएको हो ।
गृह मन्त्रालयले सञ्चालनमा ल्याएको केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (CCIMS) र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) बीच डेटा आदानप्रदान हुने व्यवस्था मिलाएपछि सहज अवस्था सिर्जना भएको हो ।
यो प्रणाली विकास गरिएसँगै आमरूपमा दैनिक ६ हजारदेखि ८ हजारसम्म सेवाग्राहीले प्रत्यक्ष लाभ लिने छन् भने फारम भर्नकै लागि समय खर्च गर्न नपर्ने भएको छ ।
यसअघि राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवेदन फाराम भर्न र जैविक (बायोमेट्रिक) विवरण दिन तोकिएको एकाइमै पुग्नुपर्ने बाध्यता थियो ।