काठमाडौं । चैत्र २५ गते बेलुका ललितपुर मंगलबजारमा छुरा प्रहारबाट सुमित नेम्वाङ र सुजन नेम्वाङको मृत्यु भएको घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको छ ।
ललितपुरको मंगलबजारमा रहेको कृष्ण मन्दिर अगाडी दुई पक्षबिच कुटपिट एवम् चक्कु प्रहार भएको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडि बढाएको हो । उक्त घटनास्थलमा प्रहरी टोली खटिई घाईतेहरुलाई तत्कालै उद्धार गरी प्रहरीको गाडीमा राखी ग्वार्कोस्थित रहेको बि.एण्ड.बि. अस्पतालमा पुऱ्याईएकोमा उपचारको क्रममा हिजो राती ८:३० बजेको समयमा डाक्टरले दुवै जनालाई मृत घोषण गरेको थियो ।
घटनास्थलमा तत्काल विभिन्न स्थानबाट खटिएका प्रहरी टोलीले संलग्न व्यक्तिलाई चारैतिरबाट घेरा हाली खोजतलास गर्ने क्रममा घटनामा प्रयोग भएको छुरासहित भागीरहेको अवस्थामा ८ बजेको समयमा सञ्जु भन्ने संजिव नेपालीलाई छुरासहित नियन्त्रणमा लिइएको थियो भने निजसँगै आएका सहयोगी गगन सुनार समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा ललितपुर जिल्ला ईमाडोल बस्ने सुमित नेम्वाङले फोन गर्ने क्रममा झुक्किएर अपरिचित नम्बरमा फोन गएको र फोन रिसिभ गर्ने व्यक्तिले गाली गलौज गरे पश्चात फोनमा भनाभन उत्पन्न भई दुवैपक्ष मंगलबजार कृष्ण मन्दिरमा भेट्ने सहमति भई सुमित नेम्वाङ आफ्नो भाई सृजन नेम्वाङ र साथिहरूसहित दिउँसोदेखि घुम्न मंगलबजारमा नै रहेकोमा अर्को पक्ष समेत तत्काल कृष्ण मन्दिर अगाडी आई भेटघाट गरी कुराकानी गर्ने क्रममा संजिव नेपालीले आफ्नो साथमा ल्याएको मासु काट्ने छुराबाट सुमित नेम्वाङ माथि प्रहार गरेको र निजको भाई बचाउन जाँदा भाईलाई समेत घाँटी र पेटमा छुरा प्रहार गरेको थियो ।
घटनामा संलग्न संजीव नेपाली र गगन सुनारलाई भागिरहेको अवस्थामा नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।